विदेशमा अझै १०९ नेपालीको शव अलपत्र

काठमाडौँ । विदेशबाट १ सय ९ नेपालीको शव नेपाल ल्याउन बाँकी रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । लकडाउनका बीच १ सय ५७ वटा शव नेपाल ल्याएर परिवारलाई बुझाइएको पनि एनआरएनएले जनाएको छ ।

नेपाल सरकार, कूटनीतिक निकाय र गैरआवासीय नेपाली संघको पहलमा विभिन्न २३ मुलुकमा अलपत्र परेका, भिसा अवधि सकिएका, आफन्त भेटघाटमा गई उतै रोकिएका र अन्य विविध कारणले समस्यामा परेका २६ हजार ३ सय ९६ जना नेपालीको उद्धार गरिएको पनि एनआरएनएले जनाएको छ ।

यसैबीच विदेशमा संक्रमितमध्ये ९२ प्रतिशत नेपालीले कोरोनालाई जितेका छन् । एनआरएनएको स्वास्थ्य समितिले दिएको जानकारी अनुसार पछिल्लो सात दिनमा कोरोनाका कारण विदेशमा कुनै पनि नेपालीको निधन भएको छैन । गतसातासम्म विदेशका १४ देशमा संख्या १ सय ४३ जना नेपालीको विदेशमा कोरोनाका कारणले ज्यान गएको छ । 

विदेशमा कोरोना भाइरसका कारण निधन हुने नेपालीको संख्या र संक्रमणको दर उल्लेख्यरुपमा कमी हुँदै गएको समितिका संयोजक डा संजीव सापकोटाले जानकारी दिएका छन् । उनका अनुसार शनिवार साँझसम्म विश्वभर २९ हजार ६ सय २४ जनामध्ये २७ हजार ३ सय ६२ जना नेपाली संक्रमणमुक्त भएका छन् ।

अष्ट्रेलिया, पोल्याण्ड, कतार, साउदी अरब लगायतका देशमा रहेका नेपालीहरुमा सो साता कोरोना संक्रमण दर सामान्य रुपमा वृद्धि भएको छ । एनआरएनएका अनुसार नेपालसहित कोरोना भाइरसका कारणले विश्वभर ज्यान गुमाउने नेपालीको संख्या १ सय ८१ छ भने ४६ हजार ३ सय ४६ जना संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *