सहकारीकाे ४५ करोड रूपियाँ हिनामिना गर्ने मुख्य अभियुक्त पक्राउ

बाँके । ४५ करोड रूपियाँ हिनामिना प्रकरणका मुख्य अभियुक्त सहकारी वित्तीय विकास संस्था लिमिटेड नेपालगञ्जका सञ्चालक समिति अध्यक्ष हरदेवबक्स चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । सहकारीको रकम हिनामिना प्रकरणपछि फरार चौधरीलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी दिए ।


उनका अनुसार प्रहरीको खोजी सूचीमा रहेका संस्थापक अध्यक्ष चौधरी नेपालगञ्जमै रहेको विशेष सुराकीका आधारमा प्रहरीले बिहान पक्राउ गरेको हो । उक्त रकम हिनामिना घटनामा आरोपितमध्ये अधिकांशलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । कतिपयविरुद्ध मुद्दा दायर भइसकेको छ । यसअघि संस्थाका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिइसकेको छ । उनीहरु कारागारमा सजाय भोगिरहेका छन् ।
अभियुक्तद्वय लेखा समिति सदस्य स्थिरमणि बज्राचार्य र ओमप्रकाश चौधरीसँग जनही २० लाख रूपियाँ धरौटी मागिएको छ । बज्राचार्य २० लाख रूपियाँ धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराधअन्तर्गत अभियोगपत्र दायर भएको थियो ।

सहकारीका ११ हजार ९ सय आठ निक्षेपकर्ता र एक हजार ८ सय ६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयरधनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारवाहीको माग गर्दै जाहेरी दिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *