काठमाडौं । नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको विरोधमा भारतले कूटनीतिक नोट पठाएको एक सांसदले बताएका छन् ।
राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबार बसेको बैठकमा सभापति रामनारायण विडारीले भारतको कूटनीतिक नोट आएको जानकारी दिएका हुन् । उनले भने, ‘नेपालको दाबीलाई अस्वीकार गर्दै भारत सरकारले असार १० गते कूटनीतिक नोट पठाएको रहेछ ।’
यद्यपि भारतले कूटनीतिक नोट पठाएको विषयमा परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा केही बोलेको छैन ।
यसअघि नोभेम्बर २०१९ मा भारतले जारी गरेको नक्सामा नेपाली भूभाग परेको भन्दै नेपालले विरोध गरेको थियो । कूटनीतिक नोट पठाउनुका साथै दुई पटक गरेको नेपालकाे वार्ताको प्रस्तावलाई भारतले अस्वीकार गरेको थियो ।