बेलायतमा नेपाली महिलालाई आफ्नै नवजात शिशु हत्या गरेको अभियोग

लण्डन । आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई हत्याको अभियोगमा बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ । तीन वर्षअघि नेपालबाट बेलायत आएकी २३ वर्षीया बबिता राईलाई सन् २०१७ मेमा नवजात शिशुलाई मारेर इङ्ग्ल्याण्डको अल्डरसटमा रहेको म्यानर पार्कमा गाडेको आरोपमा पक्राउ गरेको जनाइएको छ ।

प्रहरीका अनुसार उक्त शिशुलाई १९ मे २०१७ मा सो पार्कमा काम गर्ने एक कामदारले मर्मतसम्भारका क्रममा फेला पारेका थिए । कामदारले प्रहरीलाई खबर गरेपछि राईलगायत अन्य चार जनाविरुद्ध प्रहरीले अभियोग दर्ता गरेको थियो । प्रहरीका अनुसार शिशुको टाउकामा गम्भीर चोट लागेको सन् २०१८ मा गरेको शव परीक्षण रिपोर्टले देखाएको थियो । अदालतमा उक्त शिशुलाई ‘यम’ नामले सम्बोधन गरिएको थियो ।

अगस्ट १९ तारिखमा थप सुनुवाइ गर्ने गरी अदालतले आज समय तोकेको छ । दोभाषेको सहयोगमा आफ्नो कुरा राखेकी राईले अदालतले आफूलाई तारिख दिन नमानेको बताइन् । न्यायाधीशले उनलाई आफ्नो पक्षमा वकालत गर्ने वकिलले थप कागजात बुझाएर पुनः तारिखका लागि निवेदन दिनसक्ने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *