कांग्रेस बैठकमा होहल्ला, ओली सरकारमा नजाने निर्णय

काठमाडौँ । सरकारमा सहभागी हुने विषयलाई एजेण्डको रुपमा प्रस्तुत गरिएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा चर्काे विरोध र होहल्ला भएको छ । केन्द्रीय समितिका अधिकांश सदस्यहरुले होहल्ला गर्दै सभापति शेरबहादुर देउवाको चर्काे आलोचना गरेका थिए । उनीहरुले कुन उद्देश्यले सरकारमा सामेल हुने हो भन्दै सभापति देउवासँग स्पष्टिकरण सोधेका थिए ।

सभापति देउवाले प्रधानमन्त्री ओलीको प्रस्तावप्रति सहमति जनाएको भनेर स्पष्टिकरण दिन सुरु गरेलगत्तै अधिकांश केन्द्रीय सदस्यले विरोध जनाएका थिए । नेता बालकृष्ण खाँडलाई गृहमन्त्री र मिनेन्द्र रिजाललाई अर्थमन्त्री कसले सिफारिस गर्यो भनेर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय एक नेताले प्रश्नसमेत गरेका थिए ।

बहुसंख्यक सदस्यको विरोधपछि सरकारमा जाने सभापति देउवाको योजनालाई विफल बनाउँदै ओलीको प्रस्तावलाई अस्वीकार गर्ने र सरकारमा नजाने निर्णयसमेत कांग्रेस केन्द्रीय समितिले गरेको छ ।
सरकारमा जाने सभापति देउवाको प्रस्तावको विरुद्ध आज सोमबार बिहान नेता कृष्णप्रसाद सिटौलाको निवासमा उनकै समूहका सदस्यहरुको अनौपचारिक बैठक बसेको थियो । बैठकले सरकारमा सहभागि हुने एजेण्डकोे डटेर विरोध गर्ने निर्णय गरेको थियो ।

पौडेल र सिटौला पक्षीय नेताले केन्द्रीय कार्यसमितिको बैठकमा एकै स्वरमा विरोध जनाएपछि प्रधानमन्त्री ओलीले सरकारमा सहभागी हुन राखेको प्रस्तवबाट कांग्रेस पछाडि हट्ने निर्णय नै गर्न बाध्य भएको थियो ।

प्रधानमन्त्री ओलीले केही दिनअघि आफुनै निवासमा बोलाई सभापति देउवालाई सरकारमा सहभागी भई आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । त्यसैगरी आइतबार प्रधानमन्त्री ओलीले विशेष दूतको रुपमा नेकपाका नेता सुवास नेम्वाङलाई देउवा निवास बुढानिलकण्ठ पठाएर सरकारमा सहभागी हुन सन्देश पठाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *