डोमिनिकन रिपब्लिकको राष्ट्रपतिमा अबिनादर निर्वाचित

सान्तो डोमिङ्गो । क्यारेबियाली मुलुक डोमिनिकन रिपब्लिकको राष्ट्रपतिमा विपक्षी नेता लुइस अबिनादर विजयी भएका छन ।

क्यारेबियाली मुलुकमा विगत १६ वर्षदेखि लगातार शासन गरेको डोमिनिकन लिबरेसन पार्टी (पिएलडी) यसपटक पराजित भएको छ । पिएलडीका तर्फबाट लगातार दोस्रोपटक गोन्जालो कास्टिल्लो राष्ट्रपतिका उम्मेदवार भएका थिए । राष्ट्रपतिका लागि यसपटक छ जनाको उम्मेदवारी परेको थियो ।

राजधानी सान्तो डोमिङ्गोस्थित पार्टी कार्यालय बाहिर भेला भएका समर्थकहरुलाई सम्बोधन गर्दै ५२ वर्षीय अबिनादरले भने, “हामीले चुनाब जितेका छौं, तर हामीलाई चुनावमा विजयी गराउने जनतालाई हामीले कहिल्यै भुल्नु हुँदैन ।”

उनका मुख्य प्रतिद्वन्द्वी कास्टिल्लोले चुनावमा आफू पराजित भएको स्वीकार गरेका छज । केन्द्रीय चुनाव आयोगका अनुसार करिब ६० प्रतिशत मतगणना भइसक्दा अबिनादरले करिब ५३ प्रतिशत मत प्राप्त गरेका छन । कास्टिल्लोले भने ३७ प्रतिशत मात्र मत प्राप्त गरेका थिए ।

यस पटकको चुनावमा केही स्थानमा सत्तारुढ पार्टी र विपक्षी कार्यकर्ताबीच सामान्य झडप भएका छन् । राजधानीस्थित एक मतदान स्थलबाहिर दुबै पक्षका कार्यकर्ताबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

कोरोनाभाइरसका कारण मुलुक लकडाउनको अवस्थामा रहे पनि चुनाव सम्पन्न भएको छ । वर्तमान राष्ट्रपति डानिलो मेडिनाले लकडाउनका कारण पूर्व निर्धारित मितिभन्दा झण्डै एक महिनापछि मात्र चुनाव गराएका हुन । डोमिङ्गोको संविधान बमोजिम डानिलो भने तेस्रो कार्यकालका लागि चुनावमा सहभागी हुन पाएका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *