काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको वार्तामा विवादको विषयप्रवेश गर्दै छलफल सुरु भएको छ । स्रोतका अनुसार पछिल्लाे समयमा प्रधानमन्त्री ओलीले अरुको कुरा सुन्दै नसुन्ने गरेको भए पनि आजको बैठकमा उनी निकै गम्भीररुपमा प्रस्तुत भएका थिए ।
प्रधानमन्त्री निवास वालुवाटारमा भएको आजको बैठक सकारात्मक दिशामा गएको र भोलिको बैठकमा दुबै अध्यक्षको निचोडलाई वरिष्ठ नेताहरुमा लैजाने कुरामा मतैक्य भएकाे छ । वार्तामा पार्टीभित्र बढेको असमझदारी तथा अविश्वासको कारण खोज्ने प्रयास भएकाे थियो । अध्यक्षद्वयको विवाद समाधान गर्न कार्यदल गठन भएर पाँच बुँदे सहमति भएको भन्ने विषयमा छलफल भएकाे र तिनमा कुनै सत्यता नभएकाेले भ्रम नराख्ने कुरामा दुबै नेता स्पष्ट भएका थिए । त्यस्ताे विषय कहाँबाट सार्वजनिक भयाे त्यसलाई गम्भीरतापूर्वक लिदैँ दुबै अध्यक्ष एक आपसमा स्पष्ट भएका थिए ।
उक्त वार्तामा नेता तथा कार्यकर्तामा परेको अन्यौताको अन्त्य गर्ने र पार्टीलाई कसरी अगाडी बढाउने भन्ने विषयमा व्यापकरुपमा छलफल भएको थियो । पार्टीभित्र देखिएको अन्यौताको विषयमा आजको वार्तामा बुँदागत छलफल शुरु भएको थियो । अर्को वार्ता पुनः भोलि बस्ने जनाइएको छ ।
