नेकपा स्थायी समितिको बैठक स्थगित, ओली–प्रचण्ड वार्ता सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक पर्सिसम्मका लागि स्थागित गरेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा वार्ता सुरु भएको छ ।

बालुवाटारमा बिहान करिब ९ः४५ बजे सुरु भएको अध्यक्षद्वयबीचकाे वार्तामा महासचिव विष्णु पौडेल पनि सहभागी भएको बताइएको छ ।

आजको लागि पूर्वनिर्धारित स्थायी समितिको बैठक बुधबार ११ बजे बस्ने गरी स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

नेताहरुबीच सहमति प्रयासका लागि भन्दै थप दुई दिनका लागि बैठक स्थगित गरिएको हो । यसअघि पनि दुई दिनसम्म स्थायी कमिटी बैठक स्थगित गरेर सहमतिकाे प्रयास गरिएको थियो । तर ठोस सहमति नभएपछि फेरि पनि बैठक पछि सारिएको हो ।

अध्यक्षद्वयबीच हिजो आइतबार बालुवाटारमा भएको वार्ता आज पुनः बस्ने गरी सकिएको थियो । आइतबारको वार्तामा सबै विषयमा छलफल भए पनि कुनै निर्णय हुन सकेका थिएन । आइतबारको वार्तामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका साथै महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा सहभागी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *