दुई महिनापछि मेलम्ची खोलाको पानी सुन्दरीजलमा

काठमाडौँ, अबको दुई महिनापछि मेलम्ची खोलाको पानी सुन्दरीजलमा ल्याइने भएको छ । मेलम्ची खानोपानी आयोजना विकास समितिले अस्थायी ड्याममार्फत डाइभर्सन गरी सुरुङमा पानी पथान्तरणको काम सुरु गरेपछि दुई महिनामा सुन्दरीजलमा पानी आउने पक्का भएको हो ।


समितिका अनुसार आइतबार बिहान ९ बजेबाट सुरुङमा पानी पथान्तरणको काम सुरु भएको छ । हाललाई निर्माणाधीन हेडवक्र्सभन्दा सय मिटरमाथि अस्थायी ड्याम बनाएर डाइभर्सनमार्फत सुरुङमा पानी पठाइएको छ । पानी पथान्तरण गरी सुरुङ परीक्षणका लागि दुई महिना लाग्ने र त्यसपछि सुन्दरीजलमा निरन्तर पानी आउने खानेपानी मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।


सो अवसरमा खानेपानी मन्त्री बीना मगरले दुई महिनापछि उद्घाटनको मिति तय गर्ने बताएकी छिन । उहाँले भन्नुभयो, “मेलम्चीसँगको लामो समयको प्रतीक्षा, निराशा र प्रश्नहरूको अन्त्य भएको छ, प्राविधिक रूपमा निक्कै कठिन काम सम्पन्न भएका छन्, बाधा अवरोध चिरेर निरन्तरको प्रयासले हामी सफल भएका हौँ । अब सरकार र नेतृत्वसँग छलफल गरेर उद्घाटनको मिति छिट्टै तोक्छौँ ।”

मन्त्रालयका सचिव माधव बेल्बासेले मेलम्ची खानेपानीको सुरुङ एसियाकै लामोमध्ये पर्ने बताउनुभयो । उनले भनिन, “लामो समयदेखिको चुनौतीपूर्ण कार्य सम्पन्न भएको छ अब पानी पथान्तरणमा वा सुरुङको परीक्षणमा प्राविधिक प्रणाली फ्लो गर्नुपर्ने हुन्छ, विज्ञसहितको टोलीले तीन तहको परीक्षण गर्ने छ त्यसपछि सुन्दरीजलमा पानी आउने छ ।” मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले भने, “सामान्य अवस्थामा सुरुङ परीक्षणको अवधि दुई महिना लाग्नेछ, त्यसपछि नियमित रूपमा पानी आउने छ, आयोजना नयाँ चरणमा प्रवेश गरेको छ ।”


यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *