देउवा निवास किन पुगे नेम्वाङ

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार दिउँसो २ बजेका लागि पूर्वनिर्धारित बैठकको केही समयअगाडि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष दूतको रुपमा सभापति देउवासँग भेटवार्ता गर्न नेम्वाङ आइतबार बुढानिलकण्ठ पुगेका हुन् ।

डेढ घन्टा लामो भेटवार्तामा नेता नेम्वाङले पार्टीभित्रको आन्तरिक कलहका विषयमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीलाई सहयोग गर्न देउवासँग आग्रह गरेका थिए । उनले भविष्यमा नेकपा एकीकृतरुपमै रहन नसक्ने बताउँदै कांग्रेसले त्यस्तो अवस्था आए प्रधानमन्त्री ओलीसँग सहकार्य गर्न सभापति देउवालाई प्रस्ताव गरेको कांग्रेस स्रोतले नेपाल समाजलाई बताएको छ ।

नेम्वाङले नेकपाभित्र नयाँ पार्टी गठनको प्रक्रियामा गृहकार्य भइरहेको जानकारी दिँदै नयाँ परिस्थितिमा सरकारमा सामेल हुन तयार रहन कांग्रेसलाई आग्रहसमेत गरेका थिए । केन्द्रीय समितिमा आफ्नो पक्षमा बहुमत नरहे पनि सांसदको संख्या उल्लेख्य रहेको दाबी नेम्वाङले गरेका थिए । सभापति देउवाले ओलीको पक्षमा रहेका सांसदको संख्याको विषयमा जिज्ञाशा राख्दै कांग्रेस उनको साथमा रहने विश्वास दिलाएका थिए ।

नेता नेम्वाङले पार्टी विभाजनसम्बन्धी कानूनी व्यवधानको विषयमा उपयुक्त गृहकार्य भइरहेको र त्यसको तयारी पूरा भएपछि प्रक्रियामा लैजानेसमेत उल्लेख गरे । यद्यपि सभापति देउवाले पार्टी फुटाएर अगाडि बढ्ने हो भने पनि ओलीसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताएका थिए । केही दिनअगाडि प्रधानमन्त्री ओली तथा आइतबार नेम्वाङसँग भएको भेटवार्ताका विषयलाई कांग्रेस केन्द्रीय समितिको बैठकमा वर्तमान राजनीतिक परिघटनाका बारेमा एजेण्डै बनाएर जानकारी दिने कुरा देउवाले नेम्वाङलाई बताएका थिए ।

संवैधानिक अंगमा रिक्त भएका पदहरुको समेत सभापति देउवासँग मिलेर नियुक्ति गर्ने प्रधानमन्त्री ओलीको विचार रहेको नेम्वाङले अवगत गराएका थिए । देउवाले एमसीसी परियोजनालाई कार्यान्वयन गर्ने विषयमा कांग्रेस केन्द्रीय कार्यसमितिले निर्णय गरिसकेकोले त्यसलाई संसदबाट अनुमोदन गराउनका लागि देउवाले ओलीको प्रतिवद्धता मागेका थिए । एमसीसीलाई संसदबाट अनुमोदन गराउने विषयमा प्रधानमन्त्री ओली सधैँ सकरात्मक रहेकोले त्यसमा ढुक्क रहन देउवालाई भनेका थिए । प्रधानमन्त्रीको तर्फबाट नेम्वाङ एक्लै देउवा निवास गए पनि आफ्ना विश्वासपत्र रमेश लेखकलाई देउवाले सँगै राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *