खाडी र मलेसियामा रहेका नेपाली श्रमिकको सहयोगार्थ आइएलओको ५ करोड रुपियाँ अनुदान

काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले कोभिड–१९ सँग लड्नका लागि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)लाई ४ लाख २४ हजार ३ सय १० डलर (करीब ५ करोड १० लाख रुपियाँ) अनुदान दिने भएको छ ।

आइएलओले विशेषगरी कोभिड–१९ बाट प्रभावित मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार र साउदी अरब गरी चार देशका नेपालीको सहयोगार्थ उक्त आर्थिक सहयोग गरेको हो । कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा उक्त रकम खर्चिने एनआरएनका अध्यक्ष कुमार पन्तले जानकारी दिए ।

सङ्घले ती मुलुकमा रहेका नेपालीको सहयोगका लागि नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारीसमेत गरेको छ । ती कार्यालयबाट विदेशमा कोरोनाकै कारण काम छाड्न बाध्य पारिएकालाई सुरुमै कानूनी परार्मश दिने पनि सङ्घको तयारी छ । आइएलओबाट प्राप्त सहयोग नेपाल फर्किनेका लागिसमेत खर्च गरिने सङ्घले जनाएको छ ।

आइएलओ र एनआरएनबीच अनुदान कार्यान्वयनसम्बन्धी सम्झौतासमेत भइसकेको छ । अध्यक्ष पन्तले लामो समयको प्रयासपछि उक्त सम्झौता भएको भन्दै गैरआवसीय नेपाली उत्साहित र हर्षित रहेको बताए । “सङ्घको पहलमा विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार भइरहँदा श्रमिकका लागि अनुदान रकम उपलब्ध हुनुलाई हामीले थप जिम्मेवारी बोधका रुपमा लिएका छौँ”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *