तम्घास । पूर्वमन्त्री गोकर्ण विष्टको पहलमा गुल्मीमा गएको पहिरोमा परी घाइते भएका पाँच जनाको उद्दार गरिएको छ । गुल्मी क्षेत्र नम्बर २ का सांसदसमेत रहेका बिष्टको पहलमा जिल्लाको इस्मामा पहिरोमा परी घाइते भएका सबैलाई उद्धार गरि नेपाली सेनाको हेलीकोप्टरमार्फत् काठमाडौं लगिएको हो ।
घाइतेमध्ये २७ वर्षीया ईश्वरी खत्रीको उपचार शिक्षण अस्पताल महाराजगन्ज भइरहेको छ भने ६४ वर्षीया टीका खत्री, २५ वर्षीया वसन्त खत्री, २१ वर्षीया सृजना सारु र ९० वर्षीया पुतली खत्रीको सैनिक अस्पताल छाउनीमा उपचारको हुँदैछ ।
पहिरोमा परी स्थानीय वसन्त सारुका १८ महिने छोरा सुरज सारु र ईश्वरी खत्रीकी ७ वर्पीया छोरी अपेक्षा खत्रीको घटना स्थलमै मृत्यु भएको थियो । पहिरोका कारण करिब १ सय ६० घर परिवार प्रभावित भएका छन् । पूर्वमन्त्री विष्टले पहिरोमा परेर प्रभावित भएका परिवारलाई टेण्ट, खाद्यान्नलगायतका सामग्री उपलब्ध गराएका थिए ।

यसैबीच मुसिकोट नगरपालि–२ हाँडीखोलामा हरिप्रसाद घिमिरेको घुम्ती पसल पहिरोले बगाउँदा अन्दाजी ५५ वर्षीय भागीरथ घिमिरे बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।