काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघका नेताहरुलाई भविष्यमा प्रधानमन्त्री बन्न लायक कोही नभएको भन्दै थर्काएका छन् ।
आफू अहिलेसम्म चारपल्ट प्रधानमन्त्री भएको, तर अहिलेको कोही पनि विद्यार्थी नेताहरू भविष्यमा प्रधानमन्त्री बन्नलायकको नभएको भन्दै लाज मान्नुपर्ने अवस्था आएको बताए ।
नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेविसंघले संगठन विस्तारमा काम नगरेको भन्दै अहिले गाउँ, ठाउँ, स्कुल कतै पनि नेविसंघ नरहेको र कुनै पनि स्कुलमा जित्ने हैसियत नेविसंघले नराखेको बताए ।
नेविसंघले गाउँगाउँमा, स्कुलस्कुलमा नेविसंघ बनाउन नसक्ने, तर काठमाडौंमा भाषण गरेर बस्ने प्रवृत्तिले नेविसंघ कमजोर बनेको स्पष्ट पार्दै उनले नेताहरूलाई पहिला गाउँ र स्कुलमा गएर नेविसंघ बनाएर मात्र आफूसँग कुरा गर्न आउन निर्देशन दिए ।
उनले भने, ‘राम्रोसँग गर्नुस, नेविसंघलाई बलियो बनाउनुस् । गाउँठाउँमा सबै स्कुल–कलेजमा जित्नुस् । जहाँ पनि हारेको हार्यै छ, नेविसंघ लाज पनि छैन । हामीले सबै ठाउँमा जितेका थियौँ । नेविसंघ कहाँ छ आज ? गाउँमा छ ? स्कुलमा छ ? अहिले गाउँमा कहीँ पनि नेविसंघ देखिँदैन । गाउँ, स्कुलमा जबसम्म नेविसंघ हुँदैन तबसम्म कहिल्यै पार्टी बलियो हुँदैन । त्यही नेविसंघ त हो नि पार्टी भन्ने । कहाँ छ नेविसंघ ? कतिपल्ट भन्ने । कहिले सभापतिलाई भनेँ– ए बाबा गाउँमा बोलाऊ गाउँमा । स्कुलमा नेविसंघ बनाऊ, बनाउँदै बनाउँदैनन् । अनि हारेकोहार्यै छ । सबै ठाउँमा कहाँबाट कम्युनिष्टले जित्यो यहाँ । कसरी जिते कम्युनिष्टहरु । उनीहरुले गाउँगाउँमा बनाए । काठमाडौंमा आएर भाषण गरेर केही हुनेवाला छैन । गाउँमा जाऊ गाउँमा । गाउँमा बनाऊ, गाउँको स्कुलमा बनाऊ नेविसंघ अनि मात्र झगडा गर्न आऊ । केही नगर्ने मसित कुरा गर्ने ?’
