सत्ताको विवाद संसदमा पार्नु आपत्तिजनकः नेपाली कांग्रेस

काठमाडौँ । प्रमुख विपक्षी दल कांग्रेसले संघीय संसद्को जारी अधिवेशन एकाएक अन्त्य गरिएको घटनालाई दुःखद भनेको छ ।


‘अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित निश्चित प्रक्रिया छन्, तर त्यसलाई अवलम्बन नगरी, कोरोना सिर्जित चुनौती सामना गर्न प्रस्तुत संकल्प प्रस्तावदेखि एमसिसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरूबारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद छ,’ प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्ति भनिएको छ, ‘यसबारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग न त कुनै परामर्श गरिएको छ न त पूर्वसूचना दिइएको थियो ।’

सत्तारुढ दलको विवाद संसद् अधिवेशनमा पारेकोप्रति कांग्रेसले आपत्ति जनाएको छ । ‘सत्तारूढ दलभित्रको विवाद आफ्नो ठाउँमा छ, तर राजनीतिक दलभित्रको द्वन्द्वको दुष्प्रभाव संसद् अधिवेशनमा पर्नु दुःखद मात्रै होइन आपत्तिजनक छ,’ शर्माले भने, ‘विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट देशभित्र कैयौँको मृत्यु भएको र हजारौँ संक्रमित भएको वेला त्यसप्रति उच्च गम्भीरतासाथ सिंगो संसद्ले साझा दृष्टि तय गर्न र परिमार्जित रणनीतिका साथ अघि बढ्न अत्यावश्यक पहलकदमी जरुरी थियो । तर, अधिवेशन हठात् अन्त्य गरेर सरकारले त्यसप्रति घोर उदासीनता प्रकट गरेको छ ।’

जनताको जीवन प्रधान कि सत्ताको राजनीति ? भन्दै विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीसमक्ष सार्वजनिक रूपले प्रश्न राख्दै नेपाली कांग्रेस संघीय संसद्को अधिवेशन हठात् अन्त्य गरिएकोमा असहमति प्रकट गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *