काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट स्थायी कमिटीका सदस्यहरुको एक समूहको बैठकले प्रम ओलीलाई भेटेरै अन्तिम अवस्था आए पार्टी एकतालाई बचाउन प्रधानमन्त्री पद त्याग्न सुझाव दिएका छन् ।
प्रम ओली निकट मानिएका प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, शंकर पोख्रेल, विष्णु रिमाल, सत्यनारायण मण्डल, सुवास नेवाङ्गलगायतका नेताहरुले पार्टीभित्रको आन्तरिक कलह र विवादका विषयमा छलफल गरी प्रधानमन्त्री ओलीलाई आज (बिहीबार) छुट्टै सुझाव दिएका हुन् ।
ती नेताहरुले सकेसम्म दुबै पद राख्नका लागि प्रयत्न गर्ने तर अन्तिम अवस्था आएमा एक पद छोडेर भए पनि पार्टी एकतालाई जोगाएर अगाडि बढ्न सुझाव दिएका थिए ।
उक्त समूहको निश्कर्ष प्रम ओलीलाई सुनाउँदै नेता पोख्रेलले दुबै पदमध्ये एउटा रोज्नुपरे अध्यक्ष पद रोज्न सल्लाह दिएका थिए । प्रधानमन्त्रीमा मात्र रहदाँ पार्टीभित्रको संकटले काम गर्न झन असजिलो हुने र पार्टीले जतिबेला पनि सरकारबाट फिर्ता बोलाउन सक्ने हुनाले अध्यक्ष पद बढी महत्त्वपूर्ण हुने कुरा बताएका थिए ।
प्रधानमन्त्री ओलीले अति निकट मानिएका नेताहरुको सुझावलाई समेत अस्वीकार गरेको एक नेताले बताए । यद्यपि नेता सुवास नेम्बाङ र विष्णु रिमालले भने दुबै पद नछोड्न ओलीलाई सुझाएका छन् ।
