प्रधानमन्त्री ओलीले मागे देउवाको सहयोग

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विकसित पछिल्लो घटनक्रमलाई लिएर आफूलाई सहयोग गर्न भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।


प्रधानमन्त्री ओलीले नेकपाको आन्तरिक कलह बढ्दै वर्तमान राजनीतिक समिकरणको विकल्पमा जानसक्ने परिस्थिति आएमा कांग्रेसलाई सहयोगी शक्तिको रुपमा अघि बढाउने दिशामा सहयोग गर्न देउवालाई फोनमार्फत आग्रह गरेका हुन् ।


कांग्रेसका एक नेताका अनुसार प्रधानमन्त्री ओलीको प्रस्ताव लिएर सभापति देउवाले प्रभावशाली नेता कृष्णप्रसाद सिटौलासँग छलफल गरेका छन् । नेता सिटौलाले प्रधानमन्त्रीको प्रस्ताव स्वीकार नगर्न देउवालाई सुझाव दिएका छन् । उनले भने, “यस्तो खेलमा नलागौँ, ओलीले आफ्ना पार्टीका नेतालाई त धोका दिन्छन् भने हामी (कांग्रेस) लाई सहयोग गर्छन् भन्ने लाग्दैन ।”


प्रधानमन्त्री ओलीले चाल्ने सबै कदमहरुमा सभापति देउवाको सहयोग हुने ती नेताले बताए । उनले भने– प्रधानमन्त्री ओलीको लागि सभापति देउवाले टेको दिइरहनुभएको छ र भविष्यमा पनि दिनुहुन्छ ।
“कांग्रेसको आगामी महाधिवेशनमा पुनः सभापति पदमा उम्मेदवारी दिने योजना तथा मिलेनियम च्यालेन्ज कार्पाेरेसन एमसीसी संसदबाट जसरी पनि अनुमोदन गर्ने विषयमा प्रम ओलीले वचन दिएका कारण उहाँको हरेक कदममा सभापति देउवाले टेको दिनुहुन्छ,” उनले भने– “उहाँहरुबीच संकटकालको घोषणा गर्नेलगायतका सबै विकल्पमा छलफलमा हुनसक्छ ।”


यद्यपि सभापति देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री सशांक कोइरालासँग पछिल्लो राजनीतिक घटनाका बारेमा कुनै छलफल नगरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *