कांग्रेसको महाधिवेशन फागुनमै, अन्य कार्यतालिका हेरफेर

काठमाडौं । नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन आयोजना गर्ने गरी कार्यतालिकामा केही हेरफेर गरेको छ।

पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिकामा परिमार्जन गरेको हो । असार १५ भित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यसैगरी साउन मसान्तमा सभापतिबाट प्रमाणित क्रियाशील सदस्यहरुको अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने तथा पुस ७ गते देशभरिका ७ हजार वडाको अधिवेशन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

७ सय ५१ वटा स्थानीय तहमा पुस ८ गते, प्रदेशसभाको पुस ११ गते र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन पुस १३ गते गरिसक्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता शर्माले उल्लेख गरे ।

यस्तै कांग्रेस केन्द्रीय समितिले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा पुस १६ गते, प्रदेशहरुमा माघ ६ गते अधिवेशन गर्ने निर्णय गरेको छ । प्रवक्ता शर्माका अनुसार पार्टीको महाधिवेशन भने पूर्वनिर्धारित मिति फागुन ७ बाट १० गतेसम्म हुनेछ ।

केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विषयमा पनि छलफल भएको प्रवक्ता शर्माले बताए । संसद र संसदीय समितिमा आफ्नै पार्टीको बहुमत हुँदा पनि यस्तो गैरराजनीतिक अभिव्यक्ति आउनु आपत्तिजनक भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *