नेकपा स्थायी समितिको बैठकमा चर्काचर्की, सुरुमै मागियो प्रम ओलीको राजीनामा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको जारी आजको बैठकको सुरुमै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिब्यक्तिलाई लिएर स्थायी कमिटीका सदस्यहरुले आपत्ति जनाउँदै पुष्टि गर्न माग गरेपछि चर्काे विवाद भएको छ ।

बैठकका नियमित एजेन्डामाथि छलफल सुरु नहुँदै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्रीको सरकार ढाल्न भारत र पार्टीभित्रका शक्ति लागिपरेको भन्ने भनाइको प्रष्टिकरण माग गरेपछि चर्काचर्की भएको हो ।

दुई दिनअगाडि प्रधानमन्त्रीले सार्वजनिकरुपमा दिएको अभिव्यक्तिको कडा आलोचना गर्दै अध्यक्ष प्रचण्डले भने, “पदबाट हटाउन अरुले खोजेका होइनन्, मैले खोजेको हो । तपाईंँले पार्टी र सरकार चलाउन सक्नुभएन, दुबै पदबाट राजीनामा गर्नुस् ।” प्रचण्डको भनाइ उद्धिृत गर्दै बैठकका एक सहभागीले नेपाल समाजलाई बताए ।

स्रोतका अनुसार बैठकमा वरिष्ठ नेता नेपालले पनि प्रधानमन्त्रीको कडा आलोचना गर्दै मार्ग प्रशस्त गर्न माग गरे । उनको मागमा अर्का वरिष्ठ नेता झलनाथ खनालले समर्थन जनाएका थिए ।
बैठकमा पार्टीका उपाध्यक्ष गौतमले पनि प्रधानमन्त्रीलाई स्पष्टिकरण दिन माग गर्दै, “तपाईँले छोड्नुस्, काम गर्न सक्नुभएन,” भने ।

चर्काचर्कीका बीच प्रधानमन्त्री ओलीले आफूलाई हटाउन षड्यन्त्र भइरहेको दोहर्याउँदै आफ्नो भनाइको बचाउ गरे । उनले प्रतिप्रश्न गर्दै भने, “हाम्रो बैठकमा भएको कुरा हुबहु कसरी बाहिर पुग्यो ?”

स्थायी समितिको चौथो दिनको बैठकमा शीर्ष नेताहरुबीच चर्काचर्की भएपछि मात्र तोकिएका एजेण्डामा छलफल सुरु भएको थियो ।

झापाकी सन्ध्या तिवारीले निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गर्न आवेदन दिएको बारेमा अध्यक्ष प्रचण्डले उनी को हुन् र किन उनले पार्टी दर्ता गरिन् भनी बैठकमा नेताहरुसँग त्यसबारे छलफल गर्न प्रस्ताव गरेका थिए ।

‘आयोगमा नेकपा–एमाले दर्ता गर्न आवेदन दिएको भन्ने जानकारी आयो । त्यो सन्दर्भमा हाम्रो पार्टीको कुनै नेता कार्यकर्ताको संलग्नता छ छैन भन्ने पनि प्रश्न उठेकोले स्पष्ट हुन त्यो विषयमा पनि बैठकमा छलफल भयो,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि भने ।

आजको बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, सदस्यहरू बेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीम रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश साह, सुरेन्द्र पाण्डे, जनर्दन शर्मा, पम्फा भुसाल, गोकर्ण विष्ट र भीम आचार्य गरी १८ जनाले आआफ्ना धारणा राखेका छन् ।

अर्को बैठक भोलि बुधबार असार १७ गते ११ बजे पुनः बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *