निषेधित क्षेत्रले घेरिएको सिंहदरबारभित्रै आन्दोलन

काठमाडौं । मुलुकको सर्वाेच्च प्रशासनिक अड्डा सिंहदरबारको सुरक्षा सम्वेदनशीलतालाई ध्यानमा राखेर सरकारले त्यस क्षेत्रको वरिपरिलाई समेत निषेधित क्षेत्र घोषणा गरेको छ । सिंहदरवारको बाहिरी क्षेत्रसमेतमा जुलुस, धर्नालगायत विरोधका कार्यक्रममा सहभागी हुने सर्वसाधारणलाई प्रहरीले धरपकड गर्ने गरेको छ । तर सिंहदरवारका अड्डाहरु सञ्चालन गर्ने निजामती कर्मचारीले सिंहदरवारभित्रै ब्यानरसहित आन्दोलन छेडेका छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट सोमबार पारित निजामति सेवा ऐन विधेयकको विरोधमा कर्मचारीहरु नै मंगलबारदेखि आन्दोलनमा उत्रिएका हुन् । कर्मचारीको विरोधले मुलुकको सर्वाेच्च प्रशासनिक अड्डा सिंहदरबारको काम कारवाहीमा केहीबेर अवरोध सिर्जना भएको थियो । सिंहदरवारमा कार्यरत नायव सुब्बा (नासु) तहका करिब २ सय जना कर्मचारीहरु उक्त विधेयकको विरोधमा उत्रिएका हुन् । कर्मचारीहरुको वृति विकासमा असर पर्नेगरी विभिन्न प्रावधान राखिएकाले आन्दोलन गर्नुपरेको कर्मचारीको भनाइ छ ।

आधिकारिक ट्रेड युनियन नेपाल निजामति कर्मचारी संगठनका कार्यवहाक अध्यक्ष भोला पोख्रेलले संसदीय समितिले कर्मचारीले खाइपाई आएको सेवा र सुविधा कटौती गर्ने प्रावधान नहटाएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । कर्मचारीले ३० वर्ष सेवा गरेपछि पाउनुपर्ने सुविधा उक्त ऐनमा कटौती गर्ने प्रस्ताव गरिएको छ, नेपाल समाजसँग कुरा गर्दै पोख्रेलले भने, ट्रेड युनियनको अधिकार र बढुवासम्बन्धी यसअघि पाउँदै आएको सुविधा हटाउने प्रस्तावले हामीलाई थाप आक्रोशित बनाएको छ ।

समितिको सोमबारको बैठकमा विधेयकको मन्त्री, सत्तापक्षका केही र विपक्षी काँग्रेसका सांसदहरुले विरोध गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *