स्थायी समिति बैठकः प्रधानमन्त्रीलाई सकस


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको चालू बैठकले के गर्ला भन्नेबारेमा सबैलाई चासो भए पनि नेताहरुकै बीचमा यसका बारेमा सल्लाह भएको छैन । नेताहरुबीच द्वन्द्व बढ्दै गइरहेको बेला आयोजित औपचारिक बैठकलाई कसरी निष्कर्षमा पुर्याउने भन्ने बारेमा शीर्ष नेताहरुबीच सहमति नहुने हो भने बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका लागि महंगो सावित हुने देखिएको छ ।

दुई मध्ये एक पद रोज्न दवाव

नेकपाभित्र निरन्तर उठ्दै आएको एक व्यक्ति एक पदको माग यसपटकको बैठकमा पनि उठिरहेको छ र त्यसलाई टुंगोमा पुर्याउनुपर्ने दवाव बढिरहेको छ । बैठक स्थगित भएको बेला आफ्नै निवासमा आयोजित एक एनजिओको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेताहरुलाई आरोपित गर्दै आफूलाई हटाउन भारतले उचालिरहेको बताएपछि नेकपा विवाद नयाँ दिशामा जाने सम्भावना बढेको छ ।


आज बस्ने स्थायी समिति बैठकमा थाँती रहेका एजेन्डाभन्दा प्रधानमन्त्री ओलीको त्यही भनाइले स्थान पाउने बुझिएको छ । स्रोतका अनुसार भारतको उक्साहटमा आफूलाई हटाउन पार्टीका नेताहरु नै लागिरहेको भन्ने ओलीको अभिव्यक्तिले नेताहरुलाई आक्रोशित बनाएको छ ।

नेकपाभित्रको शक्ति सन्तुलनका आधारमा हेर्दा कुनै एक नेताको मात्र सचिवालय, स्थायी समिति, केन्द्रीय कमिटी वा संसदीय दल कतै पनि बहुमत छैन । यस्तो बेलामा सबै नेता मिल्न नसके पनि बहुमतका लागि कम्तीमा दुई नेता मिल्नुपर्ने हुन्छ । प्रधानमन्त्री ओली एक्लै परेको र अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपालबीच सहकार्य देखिएकाले त्यसको प्रभाव स्थायी समितिको चालू बैठकमा पर्ने सम्भावना देखिएको छ ।

प्रधानमन्त्री ओलीले दोहोरो जिम्मेवारी पूरा गर्न नसकेको, सरकार चलाउँदा एकलौटी गरेको, पार्टीभित्र जिम्मेवारी दिँदा आफू निकटहरुलाई मात्र प्राथमिकता दिएको, सरकारी नियुक्तिहरुमा गुटका आधारमा मात्र मौका दिएको, आफूखुसी मन्त्रिपरिषद् गठन र मन्त्रीहरुको विदाइ गर्ने गरेको, पार्टीभित्र आफूसँग असहमतहरुलाई कहिल्यै समेट्न नखोजेको जस्ता आरोप लागिरहेका छन् ।


स्रोतका अनुसार, प्रधानमन्त्री ओलीलाई विवाद किनारा लगाउन र पार्टी एकता जोगाउन दुईमध्ये एक पद रोज्न दवाव बढिरहेको छ । उनी निकट नेताहरुमध्ये सुवास नेम्वाङ र विष्णु रिमालबाहेक बाँकीले पनि दुर्घटनातर्फ जाने स्थिति आएमा यही विकल्पमा जानुपर्ने सुझाव दिइरहेका छन् ।


दाहालका दुई प्रस्ताव

नेकपाभित्रको समीकरण हेर्दा अध्यक्ष दाहाल र बरिष्ठ नेता नेपालबीच सहकार्य हुँदा अध्यक्ष ओली सहजै अप्ठेरोमा पर्दछन् । कतै पनि उनको मात्रै बहुमत नरहेकाले यी दुई नेताले दवाव बढाउँदा उनले दुईमध्ये एक पद छोडेर अर्को पद सुरक्षित गर्नुपर्ने वा विवाद बढ्दै जाँदा दुबै पदबाट मुक्त हुनुपर्ने सम्भावना रहन्छ ।

बैठक उद्घाटनकै क्रममा अध्यक्ष दाहालले विगतमा आफूले त्याग गरेर ओलीलाई पाँचै बर्ष प्रधानमन्त्री हुन सहमति दिए पनि बदलामा ओलीमा अहंकार बढेको भन्दै दुई विकल्प अघि सारेका छन् ।

पहिलो, पार्टी एकता गर्दाकै सहमतिमा फर्किनुपर्ने अर्थात् ओली र दाहालबीच प्रधानमन्त्रीको कार्यकाल आधा–आधा गर्नुपर्ने । त्यस अनुसार, आगामी भदौसम्म ओली नै प्रधानमन्त्री रहने र त्यसपछि दाहाल प्रधानमन्त्री बन्नुपर्ने हुन्छ । बैठकमा दाहालले यसअघि आफूले प्रधानमन्त्री नहुने सहमति जनाइसकेकाले त्यसैमा फर्किनैपर्छ मात्रै चाहिँ नभनिरहेको पनि बताएका छन् ।

दोस्रो, पहिलेकै सहमतिमा नफर्किने अवस्थामा आफू जस्तै प्रधानमन्त्री ओलीले पनि त्याग गर्नुपर्ने अर्थात् ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने । ओली र आफू अध्यक्ष भएर बस्ने र बरिष्ठ नेता नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने दाहालको प्रस्ताव छ । स्थायी समिति बैठक आरम्भ गर्दा नेपालको नाम नलिए पनि दाहालले प्रस्ताव चाहिँ राखिसकेका छन् ।


सकभर ओलीकै सहमतिमा एक पदबाट हटाउने र उनले नमानेमा पार्टीको विधान अनुसार अघि बढ्ने तयारी नेताहरुको छ । स्रोतका अनुसार, ओलीले औपचारिक बैठकबाहेक नेताहरुसँग घनिभूत छलफल नै नगरेकाले सहमतिका साथ बैठक सकिने सम्भावना कम छ । उनले कुनै सम्झौता गर्न चाहेमा अझै सम्भावना रहेको तर वरिपरिको कठोर घेराका कारण ओली सम्झौतामा जानुभन्दा पनि एकल रुपमै अघि बढ्न खोजिरहेको बताइन्छ ।


प्रधानमन्त्रीले गयल भएकोमा आपत्ति


असार १० गते आरम्भ भएको बैठकको उद्घाटन शत्रमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले एक घण्टा बोलेका थिए । त्यसक्रममा पार्टीभित्रैबाट सरकारलाई असहयोग भएको भन्दै उनले असन्तुष्टी जनाउनुका साथै आफ्नो सरकारले राम्रै राम्रा कामहरु गरेको व्याख्या गरेका थिए । उनीपछि बोलेका अध्यक्ष दाहालले कडा रुपमा कुरा राखेपछि निराश बनेका प्रधानमन्त्री ओली त्यसपछिका पर्सिपल्ट आयोजित बैठकमा उपस्थिति नै भएनन् भने १३ गते आयोजित बैठकमा १५ मिनेट बसेर बाहिरिएका थिए । यसअघि गत बैशाख १७ गते आयोजित सचिवालय बैठक पनि चल्दाचल्दै उनी बाहिरिएका थिए ।


स्वास्थ्य अवस्था खराब भयो भन्ने बाहनामा ओली बाहिरिएपछि सदस्यहरुले त्यस पनि छलफलको विषय बनाइरहेका छन् । आफ्नै आँगनमा आयोजित बैठकमा समेत स्वास्थ्यका कारण बस्न नसक्ने व्यक्तिले मुलुक र पार्टी एकसाथ कसरी चलाउन सक्छ भन्ने प्रश्न गर्दै यसबाट पनि उनले एक पद छाड्नुपर्ने कुरामा बल पुगेको बताइन्छ । उनकै लागि बालुवाटारमा बैठक आयोजना गरिएको र उनी आफैँ अनुपस्थित रहेकोमा सदस्यहरुले आपत्ति जनाइरहेका छन् ।

आजबाट समग्र छलफल

स्थायी समितिको यसअघि तीन दिन चलेको बैठकमा सीमा समस्याका बारेमा मात्र औपचारिक रुपमा छलफल भएको छ । त्यसमा कुनै पनि सदस्यको फरक मत नभएकाले बैठकमा मौका मिलाएर एकाध फरक विषय घुसाइए पनि विवादित विषयहरुमा भने आजबाट छलफल हुने भएको छ ।


नेकपा स्रोतका अनुसार अहिले भइहरेको छलफलकै शैलीमा जाँदा बैठक समापन गर्न एक महिना लाग्न सक्ने देखिएकाले अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेलले छलफलको मोडालिटी परिवर्तनका गर्ने तयारी गरेका छन् । सरकारको कामको समीक्षा, पार्टी कामको समीक्षा, एमसीसीलगायतका विषयमा अहिलेकै जसरी अलग अलग छलफल गराउनुको साटो सबै विषयमा एकै पटक छलफल आरम्भ गर्ने र सदस्यहरुलाई बोल्नका लागि बरु अलि बढी समय दिने तयारी छ । त्यसो भएमा पाँच दिनमा बैठक सकिने आँकलन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *