यथास्थितिको लकडाउन साउन ७ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले अहिले जारी खुकुलो लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेकाे बैठकले यथास्थितिमा रहेकाे लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यस्तै हवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द रहने निर्णय बैठकले गरेको छ । बैठकले कोरोनाको विषयमा समेत समीक्षा गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

बैठकले स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला गर्ने र सबै प्रकारका कृषि र पशुप‌क्षी सेवा, उत्पादन बिक्री र बितरण खुला गर्न भनेको छ । यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु अबदेखि खुला गरिने छ । यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ ।

यसैगरी व्यक्तिहरुको पैदल आवागमन खुल्ला गर्दै जोर बिजोरको आधारमा मोटरसाइकल निजी सवारी साधन सञ्चालनमा निरन्तरता दिइने छ । यसअघि सरकारले बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला गरिसकेको छ । तर जिमखाना, सपिङ मल, समूहमा खेलिने खेलमैदान, प्रस्तुतिहरु, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल खोल्न भने रोक लगाइएको छ ।

यस्तै यात्रुबहाक सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । बैठकमा कोरोना संक्रमण दर बढ्दै गइरहेको सन्दर्भमा यसबारे गम्भीर समीक्षा भएको बताइएको छ ।

सरकारले कोरोना संक्रमणको जोखिमपछि गत चैत ११ देखि लकडाउन जारी गरेको थियो । तर जेठ २८ गतेको निर्णयअनुसार लकडाउन खुकुलो बनाइएको थियाे । त्यही बेला जारी खुकुलाे लकडाउनलाई साउन ७ सम्म कायम राख्ने निर्णय भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *