मोटरसाइकल चोरीको आरोपमा १२ पक्राउ

भीमदत्तनगर । कञ्चनपुर प्रहरीले मोटरसाइकल चोरी गरी नक्कली कागजातसमेत बनाएर मोटरसाइकल किनबेचमा संलग्न भएको आरोपमा १२ जनालाई आज पक्राउगरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले यातायात व्यवस्था कार्यालय धनगढीका कम्प्युटर सहायक अपरेटर जीतेन्द्र राना र कार्यालय सहायक गणेश भट्टराईसमेत संलग्न रहेको बताएकाछन । मोटरसाइकल चोरी गरेर नक्कली ब्लूबुकलगायतका कागजात बनाएर किनबेच गर्ने यो सक्रिय गिरोह भएको प्रहरी उपरीक्षक मरासिनीले जानकारी दिए । पक्राउ परेका यातायातका कर्मचारी नक्कली ब्लूबुक बनाउने काममा सक्रिय रहेको पाइएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको अप्रेसनबाट उनीहरुसहित आठ थान मोटरसाइकल बरामद गरिएको छ । पक्राउपर्नेमा यातायातका अपरेटर राना, सहायक भट्टराई, कञ्चनपुर लालझाडी गाउँपालिका–३ का ३५ वर्षीया बहादुर राना, बेदकोट नगरपालिका–६ का ३५ का राजकुमार राना, २५ वर्षीया हरेन्द्र राना, ३० वर्षीय सुवेश राना, लालझाडी गाउँपालिकाका रामनिवास राना, शुक्लाफाँटा नगरपालिकाका श्याम राना, बेदकाट नगरपालिकाका राम राना, लाल राना, बेदकोट नगरपालिका १८ वर्षीय प्रदीप राना, २७ वर्षीय लक्ष्मी राना र लालझाडी गाउँपालिकाका रामदयाल राना रहेका छन् ।
पक्राउ परेकाबाट यातायात व्यवस्था कार्यालय धनगढीका ब्लूबुक र सोही अनुसार सेतीकै नम्बर प्लेट हालेका मोटरसाइकल बरामद गरिएको प्रहरी उपरीक्षक मरासिनीले उल्लेख गरे “उनीहरुलाई सरकारी कागजात किर्ते र चोरी मुद्दामा कारवाही प्रक्रिया अघि बढाइनेछ ।”

प्रहरी अनुसन्धानमा अभियुक्त कर्मचारीले मोटरसाइलको ब्लूबुक बनाएवापत प्रति मोटरसाइकल रु ८ हजारका दरले रकम लिने गरेका थिए । प्रहरीले चोरीका थप पाँच मोटरासाइकलको पहिचान भइसकेको जानकारी गराउँदै नियन्त्रणमा लिएर थप कारवाही अघि बढाउने जनाएको छ । यसअघि पनि भीमदत्तनगरमा प्रहरीले यातायात व्यवस्था कार्यालयसित मिलेमतो गरी कार, जीपको कागजात बनाउने कर्मचारीसहित सवारीसाधन नियन्त्रणमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *