कोरोना भाइरसबाट विश्वमा पाँच लाख ४ हजार भन्दा बढीको मृत्युः विश्व स्वास्थ्य संगठन

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४ हजार ४ सय ९१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २ लाख ४९ हजार ८ सय ४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन डब्लुएचओद्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार सोमबार मध्याह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५५ लाख ५७ हजार ९८० जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४१ लाख ८७ हजार ३ सय ६९ जना उपचाररत छन् । संक्रमितहरुमा ५७ हजार ३ सय ४७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २६ लाख ३७ हजार ७७ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २८ हजार ४ सय ३७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २१ लाख ४७ हजार ६ सय ८३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ८२ हजार ३ सय ८६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३० लाख ७६ हजार ९ सय ७० जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ६६ हजार ६ सय ९० जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख १३ हजार ५ सय १९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९० हजार ७ सय २५ को मृत्यु भएको छ । एसियामा २२ लाख १६ हजार ३ सय २१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५४ हजार ८ सय ५१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ३ लाख ८५ हजार २ सय १९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९ हजार ६ सय ९८ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय २६ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *