भाउ बढ्यो सलहको, स्याङजामा किलोको सय

काठमाडौँ । अन्य प्रदेश सरकारहरुले तोकेको मुल्यलाई चुनौती दिँदै स्याङजाको एक गाउँपालिकाले सलह मारेर लैजानेलाई किलोको १ सय रुपियाँ दिने भएको छ । यसअघि ५ नम्बर प्रदेशले प्रतिकिलो २० रुपियाँ र सुदुरपश्चिम प्रदेश सरकारले प्रतिकिलो २५ रुपियाँ दिने घोषणा गरेका थिए ।

स्याङजाको कालीगण्डकी गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो एक सय रुपियाँ दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए ।

अध्यक्ष थापाले किसानले लगाएको अन्नबाली जोगाउन यस्तो निर्णय गरिएको बताए । उनले भने, “सलह किरा छिट्टै नियन्त्रण गर्न नसके यसले अन्नबाली सखाप पारेर खाद्यान्नको समस्या हुनसक्ने भएकाले किसानलाई जागरुक बनाउन सलह किरा मार्ने किसानलाई पैसा दिने निर्णय गरेका हौँ ।”

साँझ गाउँपालिकाको आलमदेवी, बाँसटारी, गुरुङ्दी, सटुका, खोरबारी, छापलगायतका ठाँउमा सलह किरा देखिएको गाउँपालिकाले जनाएको छ । स्थानीय बासिन्दाले खेती जोगाउनका लागि आगो बाल्नुका साथै थाल ठटाएर सलह धपाइरहेको स्थानीय विष्णु न्यौपानेले बताए । यसैगरी हरिनास गाउँपालिकाको चित्रेमा पनि सलह किरा देखिएको गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *