हरिवन । सर्लाहीमा नेकपा र काँग्रेस कार्यकर्ताबीच भएको झडपमा १८ जना घाइते भएका छन् । घाइतेमध्ये केहीलाई गोलीसमेत लागेको छ ।
धनकौल गाउँपालिकामा नेकपा कार्यकर्ता हत्याको बिरोधमा निकालिएको जुलुस विथोल्ने क्रममा नेकपा र कांग्रेस कार्यकर्ताबीच दोहोरो झडप भएको हो ।
सर्लाहीको रामनगर गाउँपालिकामा नेकपाका एक कार्यकर्ताको हत्याको घटनालाई लिएर युवा विद्यार्थीले आइतबार सर्लाहीका विभिन्न ठाउँमा जुलुस प्रदर्शन गरेका थिए । धनकौलमा भएको जुलुसकै क्रममा दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो । यस घटनामा गोली चलेको प्रहरीले बताएको छ । केहीलाई गोलीको छर्रा लागेको छ। तर कुन पक्षबाट गोली चलाएको हो भन्ने खुलेको छैन ।
घाइते हुनेमा १५ जना कांग्रेस र तीन जना नकेपाका कार्यकर्ता रहेका प्रहरीले जनाएको छ । नेकपाका कार्यकर्ताले गोली कांग्रेसका कार्यकर्ताले चलाएको दाबी गरेका छन् । घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ । अहिले स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ ।
रामनगरका नेकपा कार्यकर्ता ६० वर्षीय रामजल रायको एक साताअघि हत्या भएको थियो । रायको हत्या काँग्रेस कार्यकर्ताको संलग्लता रहेको आरोप नेकपाले लगाएको छ । तर, काँग्रेसले भने उक्त आरोपको खण्डन गर्दै आइरहेको छ ।
यादवको शव अझै सर्लाही जिल्ला अस्पतालमै छ। हत्यारालाई पक्राउ गरी कानुनी कारबाही गर्न नेकपाले माग गर्देै आएको छ ।