काठमाडौँ । प्रदेश ५ सरकारले सलह संकलन गर्नेलाई प्रोत्साहनस्वरुप २० रुपियाँ दिने घोषणा गरेको भोलिपल्टै सुदूरपश्चिम सरकारले एक किलोको २५ रुपियाँ दिने भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक किलो सलह कीरा ल्याए २५ रुपैयाँ दिने निर्णय गरेको हो । मन्त्रालयले प्रदेशमा हाल अनिकाल निम्त्याउने सलह भित्रिनसकेको अवस्थामा भित्रिन सक्ने खतरा तर्फ सतर्कता अपनाइएको जनाउँदै सोही सतर्कता स्वरूप मन्त्रालयले एक किलो सलह ल्याउनेलाई २५ रुपैयाँ दिने निर्णय भएको जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माका अनुसार सलह कीराले पुर्याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये कीरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २५ रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरिएको हो ।
सलह कीरा मारेर स्थानीय तहको कृषि शाखामा उपलब्ध गराए उक्त स्थानीय तहले रकम उपलब्ध गराउने उनले बताए ।
आइतबार मात्रै बुटवल उपमहानगरपालिका वडा नं. ४ ले दुई बालकलाई साढे आठ किलो सहल संकलन गरेबापत १ सय ७० रुपियाँ प्रोत्साहस्वारुप दिएको थियो ।