सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जडान गरिएको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर मेसिन दुई दिनदेखि सञ्चालनमा आउन सकेको छैन ।
बैशाखको अन्त्यतिर जडान गरिएको उक्त पीसीआर मेसिनले गत शुक्रबारदेखि काम गर्न छाडेपछि परीक्षणका लागि संकलन भैसकेका १५ सयभन्दा बढी स्वाब प्रयोगशालामा थन्काइएको छ ।
स्रोतका अनुसार यो मेसिन मर्मतका लागि प्रदेश सरकारले भारतबाट प्राविधिक झिकाउनका लागि पहल गरिए तापनि तत्काल आउन सक्ने संभावना छैन । अचानक मेसिन बिग्रिएपछि संकलन गरिएका स्वाब अलपत्र अवस्थामा छन् । उक्त मेसिनबाट यसअघि दैनिक करिब ४ सय स्वाबको परीक्षण हुँदै आएको थियो।
यसअघि बिवादास्पद ओम्नी समुहसँग खरिद गरेको मेसिनले काम गर्न छाडेपछि संघीय सरकारले त्रिभुवन विश्व विद्यालयमा रहेको पीसीआर मेसिन सुर्खेतमा जडान गरेको थियो । स्वास्थ्य सेवा विभागले विवादस्पद कम्पनी ओम्नीसँग खरिद गरेको ‘पोर्टेवल’ मेसिन उपलब्ध गराए पनि त्यो प्रयोगविहिन अवस्थामा छ । पछिल्लो पटक प्रदेश सरकारले टेन्डरबाट खरिद प्रक्रिया अघि बढाएको अर्को पीसीआर मेसिन पनि सुर्खेत आइपुगेको छैन ।
प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले मेसिन मर्मतका लागि पहल भइरहेको बताए । उनले भने, ‘मेसिन बन्दैछ, त्यतिञ्जेल हामीले अन्य ठाउँमा स्वाब पठाएर भएपनि परीक्षणलाई रोक्दैनौँ । मेसिन बिग्रिएर तत्काल परीक्षण आवश्यक भएपछि सुर्खेतमा कार्यरत केही सुरक्षाकर्मीको स्वाब संकलन गरी नेपालगंज पठाइएको छ ।
भारतबाट आएकालाई मात्र कोरोना संक्रमण देखिएकोमा पछिल्लोपटक समुदायसम्म संक्रमण फैलिएपछि परीक्षणको दायरा बढाउनुपर्ने अवस्थामा मेसिन बिग्रिएर थप अन्यौल भएको छ । सुर्खेतको मेसिन बिग्रिएपछि कर्णाली प्रदेशमा कोरोना परीक्षण जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निर्भर हुन पुगेको छ भने त्यसलाई भार पनि बढेको छ ।
कर्णालीमा पछिल्लो समय सुर्खेत , दैलेख र जुम्लामा गरि ४० भन्दा बढी सुरक्षाकर्मी तथा १२ जना चिकित्सकसहितका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशाला प्राविधिकमा संक्रमण देखिएपछि त्रासका कारण प्रदेश अस्पताल सुर्खेत, कर्णाली विज्ञान प्रतिष्ठान जुम्लामा ओपीडी सेवा अनिश्चितकालिन बन्दको घोषणा गरिएको छ ।
सुर्खेतको प्रदेश अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा कार्यरत प्रयोगशाला प्राविधिक गरी ९ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाब संकलन गरिए पनि मेसिन विग्रिदा परीक्षण हुन सकेको छैन ।
