भारतले मलाई हटाउन षड्यन्त्र गर्याेः प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउने खेल खेलिरहेको र उक्त खेलमा नेपालका नेताहरू पनि लागेको बताएका छन् ।

मदन भण्डारी फाउण्डेसनले शनिबार बालुवाटार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरूले पनि सुन्नु भएको होला, हप्ता १५ दिनमा प्रधानमन्त्री परिर्वतन हुँदैछ, भारतका मिडिया सुन्नु भएको होला । भारतका बौद्धिक बहसहरू सुन्नु भएको होला । कसरी भारतको राज्य संयन्त्र सक्रिय छ‍‍‍ ।’

अघिल्लो पटक प्रधानमन्त्री भएको बेला पनि चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेलगतै आफूलाई हटाइएको उनले स्मरण गरे । अहिले नेपालले आफ्नो जमिन फिर्ता ल्याउन खोज्दा फेरि आफूलाई हटाउन खोजिएको उनले बताए । उनले अगाडि भने, ‘नेपालकै नेताहरू लागेका छन् । बहस चलेको छ, अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुँदैन ।’

‘चीनतिर सम्झौता गरेर फर्किएपछि सरकार ढलेको थियो किनभने हामीसँग बहुमत थिएन । अहिले त्यही सपना देखेर संविधान संशोधन भयो, नक्सा जारी भयो । दिल्लीका सञ्चार माध्यमहरू सुन्नुस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँकहाँ के-के भइरहेको छ । यहाँका होटलहरूमा भइरहेका गतिविधिले पनि देखाइरहेको छ । दूतावासको सक्रियताले पनि देखाउँछ, ’ प्रम ओलीले भने ।

तर नेपालको नक्सा छापेबापत प्रधानमन्त्रीलाई हटाउने सपना पूरा नहुने उनकाे दाबी छ । ‘नेपालको आजको रााष्ट्रियता यति कमजोर छैन, कसैले नसोचे पनि हुन्छ’ उनले थपे, ‘कसैले हतारो नगरे हुन्छ, कसैले विभिन्न आग्रह नपाले पनि हुन्छ ।’

प्रधानमन्त्री ओलीले आफूलाई पदमा बसिरहन मन नभएको तर यसतिबेला आफू हटे भोलिबाट नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने बताए । आफ्नो पार्टी र संसदीय दल यस्तो बहकावमा नलाग्नेसमेत उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *