निर्माण सम्पन्न भएको हप्ता नबित्दै भत्कियो नाला

बारा- बाराको कलैया उपमहानगरपालिका–२ मा निर्माण गरिएको नाला हप्ता नबित्दै भत्किएको छ । ठेकेदार कम्पनीले कमसल निर्माण सामग्रीको प्रयोग गरेका कारण नाला भात्किएको आरोप स्थानीयले लगाएका छन् । शहरी विकास मन्त्रालयले बोलपत्र आह्वान गरी शहरी विकास कार्यालय वीरगञ्जले ठेक्का सम्झौता गरेको जनाइएको छ । उनीहरुले कार्यालयका कर्मचारी तथा ठेकेदार कम्पनीको मिलेमतोमा कमसल निर्माण सामग्रीको प्रयोग हुँदा नाला भत्किएको जनाएका छन् ।
कलैया उपमहानगरपालिकाभित्र सडक स्तरोन्नति तथा मर्मत गर्न आशिष ओंम साई कन्ट्रक्सन जेभीले २०७६ वैशाख १६ गते ठेक्का पाएको थियो । सो आयोजनाको कुल लागत रु ४८ करोड २२ लाख ५७ हजार ६८९ रहेको छ ।
सडक विस्तार कार्यलाई चार भागमा विभाजन गरी ठेकेदार कम्पनी जेभिले कलैया उपमहानगरपालिका–२ को दोहोरी स्कुलदेखि पकडी गाउँसम्म निर्माण गरिरहेको नालामा कमसल सामग्री प्रयोग गरी बनाएकाले नाला चुहिने गरेको स्थानीय उपेन्द्र यादवले बताए ।
उनले ८७ सेन्टि मिटर अग्लो नाला भत्किदा नालाको पानी स्थानीयको घर खेतमा पसेको जानकारी दिनुभयो । कार्यालयका इञ्जिनियर धिरेन्द्र यादवले निर्माणको अनुगमन गरिने र भत्किएको भए पुन निर्माण गर्न लगाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *