काठमाडौं । काठमाडौ महानगरपालिकाले कोरोना महामारीकै बिचमा पाँच वर्षसम्मका बालकालिकालाई असार १८ गतेदेखि दादुरा रुवेला विरुद्धको खोप लगाउने भएको छ । कोरोना भाइरसका कारण बैशाख महिनामा लगाउनु पर्ने खोप लकडाउन खुकुलो भएसंगै सामाजिक दुरी कायमगर्दै महानगर भित्र खोप लगाउने ब्यवस्था गरेको हो । महानगरका विभिन्न टोलमा स्वास्थ्यकर्मी खटाएर COVID-19 सङ्क्रमणको खतरालाई समेत ख्यालगर्दै उक्त अभियान सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ ।
नेपाल सरकारले सन् २००४ देखि शुरु गरेको यो अभियान सन् २०२३ सम्ममा दादुरा रुवेला रोग निवारण गर्ने लक्ष्य लिएको छ । सन् २०२० सम्म आइपुग्दा नेपालका लागि यो पाँचौ कार्यक्रम हो । नियमित रुपमा लगाइने खोप लामो समयसम्म रोक्दा भविश्यमा ठूलो स्वास्थ्य समस्या निम्त्याउन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई हप्ता अगाडि सामाजिक दूरी कायमगर्दै उक्त कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेको थियो ।
के हो दादुरा रुबेला खोप ?
पाँच वर्ष मुनिका बालबालिकालाई मिजाल्स भाइरसका कारण देखिने दादुरा द्रुत रुपमा सर्ने सङ्क्रामक रोग हो । रुवेला भाइरसका कारण हुने दादुरा जस्तै देखिने अर्को सङ्क्रामक रोग हो । यस्तो संक्रमण भएमा बालबालिको मृत्यु समेत हुन सक्छ । त्यसैगरी रुवेला भाइरस दादुरा रोगको लक्षण भन्दा सामान्य किसिमको हुन्छ । तर गर्भावस्थामा रुबेला सङ्क्रमण भएमा स्वास्थ्यमा विभिन्न जटिलताहरु देखिन्छन् । जस्तो समय नपुगी बच्चा जन्मिने, मृत बच्चा जन्मिने तथा विकलांग हुने जस्ता समस्या आउन सक्ने महानगरले जनाएको छ ।
कसरी सर्छ दादुरा ?
सङ्क्रमित ब्यक्तिले हाछ्यूँ गर्दा, खोक्दा निस्कने थुकका छिटाहरु हावामा फैलिदा नजिकको अर्को ब्यक्तिमा सङ्क्रमण फैलने गर्छ । सङ्क्रमित ब्यक्तिको सम्पर्कमा आएको ब्यक्तिलाई करिव १० दिनपछि ज्वरो आउने समस्या देखापर्छ ।
कस्ता हुन्छन् त लक्षणहरु ?
दादुरा रोगको पहिलो लक्षण उच्च ज्वरो आउनु हो । समय समयमा नाकबाट पानी बग्ने, खोकी लाग्ने,आखाँ रातो हुने वा आँशु बग्ने र रोगीको गालाको भित्रीभागमा मसिना सेतो दाग देखापर्छ । मुख र गर्दनको माथिल्लो भागमा मसिना विविरा देखापर्छन् ।यसरी विविरा देखा परेको करिव तीन दिनभित्र छाती,पेट र हात खुट्टामा रोग फैलन्छ । शरिरमा देखापरेका विविरा ५ दिनपछि हराएर जान्छन् ।
दादुरा रुवेलाविरुद्धको खोप बच्चा जन्मिएको ९ महिनादेखि ५ वर्षसम्म लगाउनु पर्छ । दादुराको नियमित र गुणस्तरीय खोप पूर्णरुपमा दिएमा यो रोग नियन्त्रण र निवारण गर्न सकिने चिकित्सकहरु बताउँछन् ।