काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर उपस्थित भएर एकैछिनमा बाहिरिए । उक्त बैठकमा शुक्रबार अनुपस्थित भएपछि उनको चर्को आलोचना भएको थियो ।
तेस्रो दिन शनिबार बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठक करिब आधा घण्टापछि साढे ११ बजेतिर सुरु भएको थियो । बैठकमा उपस्थित भएका प्रधानमन्त्री १२ नबज्दै बाहिरिएको स्रोतले बतायो । अर्का अध्यक्ष प्रचण्डले अध्यक्षता गरिरहेको हुँदा बैठकमा पूरै समय आफ्नो उपस्थिति जरुरी नहुने र प्रधानमन्त्रीको हैसियतले अरु पनि कामहरु भएकाे प्रधानमन्त्रीले स्पष्टीकरण दिएको बालुवाटार स्रोतले बतायो ।
नेकपा स्थायी कमिटीको बैठक बुधबारदेखि सुरु भएको हो । सुरुको दिन बैठकलाई सम्वोधन गरेका प्रधानमन्त्री ओली शुक्रबारको दोस्रो बैठकमा सहभागी भएनन् । शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीको अनुपस्थितिलाई लिएर आक्रोश पोख्दै कतिपय नेताहरुले बालुवाटारको बैठक धुम्बाराहीस्थित पार्टी कार्यालयमा सार्न मागसमेत गरेका थिए ।