काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकमा भारतसँगको सीमा विवादबारे सदस्यहरूले धारणा राखेका थिए ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा १८ जनाले बोलेका थिए । तीमध्ये बैठकको शुरूमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुराको अतिक्रमित भूमि फिर्ता गर्न सरकारले पहल गरिरहेको, तर भारतले वार्ताको सकारात्मक तत्परता नदेखाइरहेको जानकारी गराउँदै कूटनीतिक पहलद्वारा नै समस्याको समाधान गरिने उल्लेख गरेका छन् ।
उनले चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने झूठो, नियोजित र भ्रामक प्रचारमा कुनै सत्यता नभएको र चीनसँग सीमाको सम्बन्धमा कुनै समस्या नरहेको पनि स्पष्ट पारेका छन् ।
बैठकमा लीलामणि पोखरेल, मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारयणकाजी श्रेष्ठ बोलेका थिए ।
यस्तै बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कार्यव्यस्तताका कारण आजको बैठकमा उपस्थित नहुने र बैठक सुचारूरूपमा संचालन गर्न भनेको जानकारी गराएका थिए । स्थायी कमिटीको अर्को बैठक शनिबार ११ बजे बस्नेछ ।