पोखरा । कोरोना संक्रमणबाट मृत्यु भएका एक पुरुषको शव व्यवस्थापनमा स्थानीय बासिन्दाहरुबाट अवरोध भएको छ ।
बुधबार राति निधन भएका स्याङ्जा ती पुरुषको शव व्यवस्थापनका लागि पोखरा महानगरपालिका ३२ स्थित मजुवा लैजाँदै गर्दा शवबाहनसहितको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेका हुन् । झडपका क्रममा एक दर्जन प्रदर्शनकारी घाइते भएको प्रहरीले बताएको छ ।
शव व्यबस्थापन गर्न नदिने भन्दै स्थानियले प्रहरीटोली माथि ढुङ्गामुडा गर्न थालेका थिए । झडपका कारण अहिले पनि सो क्षेत्रमा तनाव जारी छ । नेपाली सेनाले शव व्यबस्थापन गर्ने र पोखरा महानगरपालिकाले शव व्यवस्थापन स्थान खोज्ने सहमतिअनुसार महानगरले पोखरा ३२ मजुवाघाट तय गरेको थियो । जसअनुसार प्रहरील शवबाहनमा राखेर मृतकको शव घाटतर्फ लगेको थियो ।
कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले शव लैजाने क्रममा स्थानीयबाट अवरोध भएपछि झडप हुन पुगेको पुष्टि गरे ।
महानगरपालिकाले भने शव व्यवस्थापन गर्ने काममा अवरोध गर्न नहुने उल्लेख गरेको छ । ‘शबलाई कहिँ न कहिँ त व्यवस्थापन गर्नैै पर्यो, मजुवा घाट बस्तीबाट टाढा भएकाले शव व्यवस्थापन गर्दा केहिी अफ्ठ्यारो नपर्ने भएकाले उक्त ठाउँ चयन गरिएको हो,’ पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले बताए ।
यसअघि पनि शव व्यवस्थापन गर्ने क्रममा कास्कीमा उस्तै प्रकृतिको झडप भएको थियो ।