काठमाडौँ । विभिन्न देशमा अलपत्र नेपालीको उद्धारका लागि आज (बुधबार) ११ वटा उडान हुँदैछन् ।
बुधबार विदेशका पाँच ठाउँबाट नेपाली लिएर जहाज काठमाडौं आइपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ। यसैगरी विदेशका विभिन्न पाँच स्थानमा रहेका नेपाली लिन काठमाडौंबाट जहाज जाँदैछन्।
विमानस्थलका अनुसार नेपाल एअरलाइन्सका दुई जहाज साउदीको दमामबाट १ सय ५४ तथा साउदीकै जेद्दाबाट समस्यामा परेका नेपाली लिएर आउँदै छन् । यस्तै हिमालय एअरलाइन्सको जहाजले यूएईबाट १ सय ५४ नेपाली लिएर आउँदै छ।
यसैगरी कुबेतबाट पनि १ सय ६० जना नेपाली स्वदेश फर्किेन कार्यतालिका छ। कुवेत सरकारले जजिरा एयरको चार्टर्ड जहाजमार्फत उसकै खर्चमा त्यहाँ समस्यामा परेका नेपाली नेपाल पठाइदिन लागेको हो ।
त्रिभुवन विमानस्थलका अनुसार आज इस्तानबुलबाट टर्किस एयरलाइन्सको चार्टर्ड जहाजमार्फत २ सय ८० नेपाली स्वदेश फर्किंदै छन् । उक्त जहाजले यहाँबाट फर्किंदा नेपालबाट २ सय ८० जना नै लिएर जाने तालिका छ ।
यस्तै आज हिमालय एयरलाइन्स र नेपाल एअरलाइन्सका चार्टर्ड जहाज नेपाली लिन विभिन्न देशमा जाने विमानस्थलले जनाएको छ । हिमालय एयरलाइन्सको जहाज आज राति यूएईको आबुधाबीतर्फ उड्नेछ भने नेपाल एअरलाइन्सको जहाज साउदीको जेद्दा जानेछ।
यस्तै कुवेतमा समस्यामा परेका नेपाली ल्याउन नेपाल एयरलाइन्सले आज राति पहिलो चार्टर्ड उडान गर्दै छ । यस्तै आजै राति नेपाल एयरलाइन्सको जहाज जापानको नारिता र हिमालय एयरलाइन्सको जहाज कतारको दोहा जाने विमानस्थलले सार्वजनिक गरेको तालिकामा उल्लेख छ ।