रामपुर । पहिले पठनपाठन चौतारी, प्रतीक्षालय तथा ठाँटी र पौवामा हुन्थ्यो । कोरोना महामारीले गर्दा यहाँका विद्यार्थीलाई पढाइमा ध्यान केन्द्रित गराउन पहिले झैँ गाउँका चौतारी र प्रतीक्षालयमा पढाउन थालिएको छ ।
भौतिक दूरी कायम गरी मास्क, स्यानीटाइजरको प्रयोग र साबुनपानीले हात धुन लगाएर टोलटोलमा रहेका चौतारी, प्रतीक्षालय र खुला चौरमा विद्यार्थीलाई राखेर शैक्षिक पठनपाठन शुरु गरिएको हो । जिल्लाका रामपुर नगरपालिका तथा निस्दी र रैनादेवी छहरा गाउँपालिकाका विद्यालयले टोलटोलमा पठनपाठन सञ्चालन गरेका छन् । सानो सानो समूह बनाएर कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट सजगता अपनाउँदै पढाउन थालिएको छ । यसले शैक्षिक कार्यमा विद्यार्थीलाई आकर्षित बनाएको पाइएको छ ।
निस्दीले सामुदायिक विद्यालयमा क्वारेन्टिन निर्माण गरेकाले गाउँगाउँमा शिक्षक परिचालन गरेर समूहसमूहमा विद्यार्थीलाई पढाउन थालेको स्रोतव्यक्ति नरबहादुर थापा बताउनुहुन्छ । रैनादेवी छहराले पनि चौरमा विद्यार्थीलाई राखेर पढाउने गरेको छ । रामपुरका सामुदायिकसँगै केही संस्थागत विद्यालयले पनि टोलटोलमा विद्यार्थी बोलाएर पढाउने गरेका छन् । विद्यार्थीले विद्यालय बन्दपछि घरमा खेलेर र मोबाइल हेरेर मात्र समय बिताउन थालेपछि पढाइमा ध्यानाकर्षण गराउन शिक्षकलाई टोलटोलमा पठाएर सिकाइ सहजीकरण शुरु गरिएको रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्साल बताउँछन् ।
कक्षा १२ मा शिक्षा र व्यवस्थापन सङ्कायमा विद्यार्थी सङ्ख्या धेरै हुँदा शिक्षण कसरी गर्ने भन्ने विषयमा भने विद्यालयले छलफल गरिरहेको छ । विज्ञान सङ्कायका विद्यार्थीलाई अनलाइनमार्फत पढाउन थालिएको छ ।
टोलटोलमा राखेर शिक्षण गर्दा कोरोनाको जोखिमका साथमा व्यवस्थापन चुनौती रहेको शिक्षक भरत घिमिरे बताउछन् । उनका अनुसार बिहान ६.०० देखि ९.०० बजेको समय तालिका बनाएर पढाउने गरिएको छ । विद्यालय बन्द रहेका समयमा पढ्न पाउँदा पढाइमा चासो बढेको र घरमै बसेर पनि पढ्ने कार्यमा ध्यान गएको रामतुलसी मावि कक्षा ८ की छात्रा श्वेता रेग्मी बताउँछन् ।
पूर्वखोला गाउँपालिकाले पनि विद्यार्थीको पढाइलाई सहजीकरण गर्न गाउँगाउँमा कक्षा सञ्चालन कार्यक्रम ल्याएको छ । उक्त पालिकाले असार १ गतेदेखि हरेक गाउँका १० देखि १२ जनासम्म विद्यार्थी जम्मा गरेर शिक्षण गराउने कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए । गाउँपालिकाका शिक्षा शाखा अधिकृत डिल्लीराम ढुङ्गानाले गाउँमा कुनै पनि शिक्षण पेशामा आबद्ध शिक्षक नभएमा त्यहाँ बसोबास गर्ने शिक्षित व्यक्ति परिचालन गरिने पढाइने बताए ।
वैकल्पिक शिक्षा सहजीकरण निर्देशिका २०७७ अनुसार पाँच श्रेणीमा विभाजन गरेर शिक्षा सञ्चालन गर्न भनिएको छ । कोरोनाको जोखिम दैनिक बढ्दै गएको र विद्यालयलाई क्वारेन्टिन बनाइएको हुँदा फोनमार्फत् वा सामाजिक सञ्जालबाट विद्यार्थीसँग सम्पर्कमा रहेर पढ्ने कार्यमा उत्प्रेरणा दिन सबै विद्यालयका शिक्षकलाई अनुरोध गरिएको जिल्ला शिक्षा समन्वय तथा एकाइ प्रमुख रमेशराज पौडेल बताउँछन् । पाल्पाका ४ सय ९३ सामुदायिक विद्यालयमध्ये १ सय ६५ विद्यालयमा क्वारेन्टिन निर्माण गरिएको छ ।