काठमाडौँ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले चालू आर्थिक वर्षको १० महिनाको अवधिमा कूल ३० अर्ब ८९ करोड रुपियाँ बराबरको धितोपत्र बिक्रीका लागि अनुमति दिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत वैशाख मसान्तसम्म धितोपत्र बजारमा भए गरेका काम कारवाहीको जानकारी दिँदै बन्दाबन्दीको अवधिमा समेत शेयर बजारमा आशातित काम भएको पाइएको छ ।
केन्द्रीय बैंकका अनुसार समीक्षा अवधिमा बोर्डले २१ अर्ब ४५ करोड रुपियाँ बराबरको ऋणपत्र बिक्रीका लागि अनुमति दिएको छ । यस्तै ४ अर्ब ४१ करोड रुपियाँ बराबरको हकप्रद शेयर, ३ अर्ब २३ करोड रुपियाँ बराबरको साधारण शेयर र एक अर्ब ८० करोड रुपियाँ बराबरको सामूहिक लगानी कोष (म्युचुअल फण्ड) गरी ३० अर्ब ८९ करोड रुपियाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको बैंकले जनाएको छ ।
गत वैशाख मसान्तमा धितोपत्र बजार पूँजीकरण १५ खर्ब ३६ अर्ब ४२ करोड रुपयाँ कायम भएको छ । गत असार मसान्तमा बजार पूँजीकरण १५ खर्ब ६७ अर्ब ५० करोड रुपियाँ रहेको थियो । गत असारको तुलनामा वैशाखमा आइपुग्दा ३१ अर्ब ५० करोड रुपियाँले कूल बजार पूँजीकरणमा कमी आएको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत कम्पनीको सङ्ख्या २ सय १२ रहेको छ । सूचीकृत कम्पनीमध्ये १ सय ४८ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, चार÷चार होटल तथा व्यापारिक संस्था र अन्य समूहका चार कम्पनी रहेका छन् । गत असारमा सूचीकृत कम्पनीको सङ्ख्या २ सय १५ रहेको थियो ।
सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ८०.१ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ५.९ प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ३.८ प्रतिशत, होटेलको हिस्सा १.३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ८.६ प्रतिशत रहेको छ ।
स्टकमा गत वैशाखसम्म सूचीकृत कूल चार अर्ब ७० करोड शेयरको चुक्ता मूल्य ४ खर्ब ६० अर्ब ६१ करोड रुपियाँ रहेको छ । चालू आवको १० महिनामा २६ अर्ब २५ करोड रुपियाँ बराबरका बोनस शेयर, २१ अर्ब ४६ करोड रुपियाँ बराबरका ऋणपत्र १२ अर्ब १६ करोड रुपियाँ बराबरका साधारण शेयर, ५ अर्ब ७५ करोड रुपियाँ बराबरका सामूहिक लगानी कोष (म्युचअल फण्ड), ४ अर्ब ११ करोड बराबर रुपियाँका हकप्रद शेयर र ११ अर्ब ८३ करोड रुपियाँ बराबरका अन्य गरी कूल ८१ अर्ब ५५ करोड रुपियाँ बराबरका थप धितोपत्र सूचीकृत भएका केन्द्रीय बैंकले जनाएको छ ।