सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि प्रदेश सरकारले ल्याएको बजेट ‘व्यवहारिक र कार्यान्वयनयोग्य’ भएको बताएका छन् ।
कर्णाली प्रदेशसभाको शनिबार बसेको बैठकमा प्रदेशसभाका सदस्यहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै उनले बजेट प्रदेशको आवश्यकता र वर्तमान परिवेशअनुरुपको आएको दाबी गरे । उनले भने, “आगामी आवमा हामीले बजेट महामारी, भोकमरी र रोजगारी केन्द्रित गरेर ल्याएका छौँ ।
प्रशासनिक खर्च कटाएर यथार्थमा १५ प्रतिशतमा झारिएको छ भने चालू खर्च घटाएर ३४ प्रतिशतमा खुम्च्याइएको र पूँजीगत खर्च बढाइएको भन्दै प्रशासनिक एवं चालू खर्च करिब ६० प्रतिशतमा सीमित गरिएको छ ।”
प्रदेश सरकार राजश्वका स्रोत खोज्ने र आन्तरिक स्रोतको पहिचान गर्ने काम लाग्ने बताउँदै उनले छ प्रतिशत आर्थिक वृद्धि गर्ने शर्तसहित बोलेको बताए । “हालको विषम परिस्थिति सामान्य हुनासाथ बजेट कार्यान्वयनबाट चालू एवं निर्माणाधीन आयोजनाका कार्यान्वयनमा तीव्रता आउनेछ । रणनीतिक भौतिक पूर्वाधारका काम अघि बढ्नेछन् । नागरिकको सहज जीवनयापनको वातावरण तयार हुनेछ, जसबाट छ प्रतिशत आर्थिक वृद्धिदर हुने अपेक्षा गरेका छौँ”, उनले भने ।
बजेटको आयतन घटेका कारण नयाँ कार्यक्रम समावेश नगरिएको भन्दै उहाँले कुनै पनि अधुरा र क्रमागत योजना सम्पन्नताका लागि योजनालाई प्राथमिकता दिइएको मन्त्री ज्वालाले बताए । योजनाको छनोट प्रक्रियामा सुधार ल्याउन केही अन्योलता भएको भन्दै उनले अझै छलफल गरेर अघि बढ्नुपर्नेमा जोड थियो । महिला केन्द्रित हुनेगरी ३७ प्रतिशत प्रत्यक्ष, ४१ प्रतिशत अप्रत्यक्ष र २२ प्रतिशत तटस्थ हुनेगरी लैङ्गिक उत्तरदायी बजेट ल्याइएको उनको भनाइ थियो ।