पाकिस्तानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १ लाख ७१ हजार ६६६, निको हुने ६३ हजार ५०४

काठमाडौँ । पाकिस्तानमा आइतबार बिहानसम्म १ लाख ७१ हजार ६ सय ६६ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये
३ हजार ३ सय ४२ जनाको मृत्यु भएको छ । यस्तै सङ्क्रमितमध्ये ६३ हजार ५०४ जना निको भइ घर फर्किएका छन् ।

पाकिस्तानमा प्रति १० लाख जनसङ्ख्या बराबर ७ सय ७८ जना कोभिड–१९ सङ्क्रमित छन् भने १५ जनाको मृत्यु भएको छ । पाकिस्तानमा आइतबारसम्म १० लाख ८२ हजार ७ सय ८७ व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको छ ।

पाकिस्तानको बढी प्रभावित प्रान्तहरूमध्ये सिन्ध प्रान्तमा सबैभन्दा बढी ६५ हजार १ सय ६३, पञ्जाबमा ६४ हजार २ सय १६, इस्लामावादमा १० हजार २ सय ७९ र बलुचिस्तानमा नौ हजार १ सय ६२ सङ्क्रमित रहेका छन् ।

आइएसआई कमाण्डरको सङ्क्रमणका कारण मृत्यु

पाकिस्तानको अन्तर–सेवा गुप्तचर (इन्टर–सर्भिसेज इन्टिलिजेन्स÷आईएसआई) का बलुचिस्तानमा कार्यरत वरिष्ठ अधिकारी ब्रिग हसन अफजालको शनिबार मृत्यु भएको छ । उहाँलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

पाकिस्तानी स्रोतहरूका अनुसार उहाँ आईएसआईको बलुचिस्तान क्षेत्रको कमाण्डर हुनुहुन्थ्यो । पाकिस्तानको विकट प्रान्त मानिने बलुचिस्तानमा आधुनिक स्वास्थ्य सेवाका लागि आवश्यक पूर्वाधार नभएका कारण मृत्यु भएको आशङ्का गरिएको छ ।

बलुचिस्तानका जनस्वास्थ्य कार्यालयका महानिर्देशक डाक्टर सलिम एब्रोले हालै पत्रकार सम्मेलनमा बलुचिस्तानमा आगामी केही महिना (जुलाई देखि सेप्टेम्बर) भित्र सङ्क्रमित एक लाखभन्दा बढी पुग्ने भन्दै नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *