मोदी आफ्नै अभिव्यक्तिले आलोचित

नयाँदिल्ली । सार्वजनिक भाषण र वाक्पटुताका लागि कहलिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पछिल्लो आफ्नै सार्वजनिक अभिव्यक्तिका कारण आलोचित भएका छन् । शुक्रबारको सर्वदलीय बैठकमा मोदीको चिनियाँ सेना भारतीय भूमिमा प्रवेश नगरेको भन्ने भनाइलाई लिएर विपक्षीहरु र पूर्व कूटनीतिज्ञहरुले चर्को आलोचना गरेका हुन् ।

चौतर्फी विरोध र आलोचना भएपछि भारत सरकारले मोदीको बचाउ गर्दै भनाइलाई तोडमोड गरिएको दाबी गरेको छ । गत सोमबार साँझ लद्दाखको गलवान क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच भएको झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त घटनाका सम्बन्धमा छलफल गर्न मोदीले नै शुक्रवार सर्वदलीय बैठक डाकेका थिए । बैठकमा मोदीले ‘पूर्वी लद्दाखको घटनाका सम्बन्धमा रक्षामन्त्री र विदेश मन्त्रीको कुरा सुने र प्रस्तुति पनि हेरेँ । न त उनीहरुले हाम्रो सीमामा पसेका छन् न त हाम्रो कुनै चौकी कसैले कब्जामा लिइएको छ,’ भनेका थिए ।

मोदीको उक्त भनाइलाई लिएर सबैतिरबाट आलोचना सुरु भएको हो । मोदीले शुक्रबारको सर्वदलीय बैठकमा राखेको भनाइप्रति विपक्षी दलदेखि पूर्व कूटनीतिज्ञसम्मले विरोध र आश्चर्य प्रकट गरेका थिए । उनीहरुले मोदीको उक्त भनाइ सरकारको यसअघिको अडानको खिलाफ भएको आरोप लगाएका थिए ।

हुन पनि भारतीय विदेशमन्त्री एस जयशंकरले बुधबार चिनियाँ विदेशमन्त्रीसँगको फोनमा कुराकानीमा चिनियाँ पक्षले भारततर्फको लाइन अफ एब्चुएल कन्ट्रोल (एलएसी) मा भौतिक संरचना निर्माण गर्ने प्रयास गरेका कारण झडपको स्थिति सिर्जना भएको दाबी गरेका थिए । ‘चिनियाँ पक्षको भारतीय भूमिमा संरचना निर्माण गर्ने सुनियोजित र योजनाबद्ध कार्य नै हिंसात्मक झडप र मानवीय क्षतिका लागि जिम्मेवार छ,’ उक्त टेलिफोन कुराकानीका विषय समेट्दै भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *