अब १५ दिनलाई मात्र पुग्ने मेडिकल सामग्री मौज्दात, असारसम्म ३० हजार संक्रमित देखिन सक्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि आवश्यक मेडिकल सामग्री बढीमा १५ दिनलाई पुग्ने मौज्दात रहेको जनाएको छ ।

देशभर आठ हजार ६ सय पाँचजनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या बढेसँगै मेडिकल सामग्रीको मौज्दात भने कम हुँदै गएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले विभिन्न दाताहरूले पठाएका थप सामग्री एक–दुई दिनभित्रै आउने क्रममा रहेकाले मौज्दात बढ्ने जानकारी दिए । शनिबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य पत्रकारहरूसँगको छलफलमा महानिर्देशक सिंहले हालको परीक्षण अनुपातमा किटहरू १५ देखि २१ दिनसम्म पुग्ने मौज्दात विभागमा रहेको बताए । उनका अनुसार स्वाब संकलन गर्ने भिटिएम ७५ हजार १ सय ४६ रहेको छ ।

कोरोना परीक्षणका लागि अति महत्वपूर्ण मानिएको आरएनए एक्स्ट्राक्सन किट ९३ हजार चार सय ४६ र पिसिआर रिएजेन्ट एक लाख २५ हजार छ । भिटिएम १५ दिन, एक्स्ट्राक्सन किट १९ दिन र पिसिआर रिएजेन्ट २१ दिनलाई पुग्ने मौज्दात छ ।

महानिर्देशक सिंहले असार मसान्तसम्म थप ३० हजार संक्रमित देखिन सक्ने प्रक्षेपणका आधारमा काम अघि बढेको बताए । मन्त्रालयले थप ३० हजार केसका लागि आवश्यक पिपिई भएको बताएको छ । ‘फ्रन्टलाइनमा रहेका कर्मचारीका लागि यस अवधिमा चाहिने एन–९५ मास्क दुई लाख २८ हजार चार सय र सर्जिकल मास्क ३३ लाख ९६ हजार चार सय २४ रहेको छ । आइसियूका लागि चाहिने औषधि खरिद प्रक्रियामा छ,’ उनले भने ।

सरकारले कोरोना परीक्षण दायरा बढाउन तीनवटा अटोमेटिक मेसिन किन्ने तयारी गरेको छ । हाल सञ्चालनमा रहेका २१ कोभिड प्रयोगशालाले आवश्यकताअनुसार परीक्षण गर्न नसकेपछि स्वास्थ्य मन्त्रालयले थप तीन ठूला पिसिआर मेसिन खरिद गर्न लागेको हो । दैनिक पाँच हजारसम्म परीक्षण गर्न सक्ने अटोमेटिक पिसिआर मेसिन किन्न लागेको हो । हाल देशभरका प्रयोगशालामा दैनिक २० हजार बढी नमुना होल्ड भएका छन् । जसकारण संकलन भएको नमुनाको रिपोर्ट एक हप्ताभन्दा ढिलो आउने गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी प्रमुख डा रुणा झाले नमुना धेरै संकलन भएकाले होल्ड हुन पुगेको बताइन् । उनले महामारीको समयमा विश्वमा जहाँ पनि नमुना थुप्रिने दाबी गरिन् । ‘सुरुमा हामीले ७२ घन्टामा सबै रिपोर्ट दिँदै आएका थियौँ, अहिले एक हप्ता लागेको छ,’ उनले भनिन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजार पिसिआर परीक्षण गर्ने जानकारी दिए । सरकारी प्रयोगशालाले दैनिक सात हजार र तीन हजार निजी प्रयोगशालाले परीक्षण गर्ने उनको भनाइ छ । संक्रमितको संख्या बढ्दै जाने अनुमानका आधारमा लक्षणविहीनलाई घरमा राख्ने योजना सरकारले अघि सारेको बताए । ‘निर्देशिकाअनुसार स्वाब संकलन गर्दा परीक्षणमा समस्या आएको छ,’ उनले भने । दैनिक एक सय नमुना परीक्षण गर्ने ल्याबमा एकैदिन पाँच हजारसम्म नमुना संकलन भएकाले रिपोर्ट आउन ढिलाइ भएको उनले बताए । स्वास्थ्य संकटकाल लगाउने विषयमा कुनै निर्णय नभएको मन्त्री ढकालले स्पष्ट पारेको समाचार आइतबारको नयाँ पत्रिका दैनिकले छापेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *