काठमाडौं । बहुचर्चित बेल्ट एण्ड रोड इन्टरनेसनल ट्रान्सपोर्ट अलायन्स (ब्रिटा)को निर्वाचनमा नेपालले आफ्नो स्थान सुरक्षित गरेको छ । जुन १९ मा सम्पन्न भएको निर्वाचनमा नेपालका आशिष गजुरेल सहमहासचिव पदमा निर्विरोध निर्वाचित भएका छन् ।
उक्त सम्मेलनमा स्विजरल्याण्ड, ग्रीस, नाइजेरिया, चीन, भारत, बेल्जियम, अस्ट्रेलिया, रसिया, दक्षिण अफ्रिका र नेपाल लगायतका दर्जनौँ देशबाट ५२ जनाको सहभागिता रहेको थियो । ब्रिटामा विश्वका ५ दर्जनभन्दा बढी देशका सडक, यातायात, पूर्वाधार, विज्ञान र वातावरण इञ्जिनियरिङ्ग तथा अटोमोवाइल क्षेत्रका सरकारी, पेशागत तथा गैरसरकारी संघ संगठन आवद्ध रहेका थिए ।
सो साधारणसभामा नेपालबाट नासा फाउण्डेसन नेपालका संयोजक तथा पर्वतीय खेलकुद महासंघ नेपालका अध्यक्ष गोविन्द भट्टराईको पनि सहभागिता थियो । नेपालबाट नासा फाउण्डेसन सदस्य रहेको सो गठबन्धनमा आशिष गजुरेलले कन्ट्री रिपोर्ट प्रस्तुत गरेका थिए । गजुरेलले नेपाल सरकारले बेल्ट एण्ड रोड परियोजनामा २०१५ मै हस्ताक्षर गरिसकेको र यो परियोजनाअन्तर्गत् नेपालले ट्रान्स हिमालयन करिडोर (रेल) पारितसमेत भइसकेको उल्लेख गरेका थिए । बेल्ट एण्ड रोड परियोजना विकासमा नेपालको समर्थन रहेको उनले उल्लेख गरे ।
नेपालले सो साधारणसभामा बेल्ट एण्ड रोड इन्टरनेसनल ट्रान्सपोर्ट अलायन्स अन्तर्गत नेपालमा अन्तराष्ट्रिय स्तरको ट्रान्सपोर्ट एण्ड अटोमोवाइल इन्स्टिच्युट स्थापना गर्ने र हरेक वर्ष एउटा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने प्रस्तावसमेत गरेको छ ।
उक्त संगठनले नीतिगत कार्यमा सहयोग, प्राविधिक शीप तथा ज्ञान हस्तान्तरण, जनस्तरबाट सहभागिता, सभा, समारोह, तालिम तथा अध्ययन(अनुसन्धान लगायतका कार्य गर्ने बताइएको छ।