काठमाडौं । लामो समय बिवादमा रहेको नागरिकता ऐन सम्बन्धमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाली पुरुषसँग बिहे गरेका विदेशी महिलाको हकमा ७ वर्षपछि मात्रै अंगीकृत नागरितकता दिनुपर्ने निष्कर्ष निकालेको छ । यसले भारतमा विबाह गरेर जाने महिलाको हकमा समान स्थिति सिर्जना गरेको छ ।
शनिबार बसेको पार्टीको सचिवालय बैठकले नागरिकता विधेयकबारे छलफल गर्दै विदेशी बुहारीलाई सात वर्षपछि मात्रै नागरिकता दिने निष्कर्ष निकालेको हो ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कुनै पनि विदेशी महिलाले स्वदेशी पुरुषसँग विवाह गरेर सात बर्ष यहाँ बसेको हुनुपर्ने र त्यसबीचमा विदेशको नागरिकता त्यागेको प्रमाण पेस गरेपछि मात्रै नेपाली अंगीकृत नागरिकता दिन सकिने निष्कर्ष निकालेको जानकारी दिएका छन् ।
‘नेपाली पुरुष नागरिकसँग विवाह गरेपछि प्राप्त गर्नसक्ने अंगीकृत नागारिकताको प्रावधानवारे छलफल गरेर निष्कर्ष निकालिएको छ । जसमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा ७ वर्ष बसेको पुष्टि भएपछि आफ्नो विदेशमा नागारिकता वा त्यस्तै कागजात भए त्यसलाई त्यागेको प्रमाण पेस गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगीकृत नागारिकता प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष बैठकले निकालेको छ’, श्रेष्ठलृे बताए ।
पार्टीका केही नेता तथा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा रहेका सांसदहरुसँग परामर्श गरेको थियो भने बिहीबार काँग्रेससँग छलफल गरेका थियो ।
यस अघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबार सहमति जुटाउन पाँच दिनको समय दिएको थियो ।