पोर्चुगलमा आठ हजारलाई निःशुल्क पिज्जा खुवाउँदै टङ्क सापकोटा

लिस्बन । विश्वमा इटालेली खानाका लागि बीसौँ नम्बरभित्र पर्ने पोर्चुगलका नेपाली सेफ टङ्क सापकोटाले आठ हजार जनालाई आठ हजार पिज्जा निःशुल्क खुवाउने अभियान शुरु गरेका छन् ।

‘एक्लैले संसार बदल्न सक्दैनौँ, तर संसार बदल्न सहयोग गर्न सक्छौँ’ भन्ने नाराका साथ कोरोना कहरबाट प्रभावितका लागि टोली नै लिएर सापकोटा एक महिनाभित्र पिज्जा खुवाउन मैदानमा उत्रिएका हुन् । अभियान असार २ गतेदेखि शुरु भइसकेको छ । इटालेली पिज्जाका लागि पोर्चुगलमा उत्कृष्ट सेफका रूपमा उनी धेरै पटक सम्मानित भइसकेका छन् ।

बाग्लुङको दमकेमा जन्मिएर युरोपका विभिन्न देश हुँदै २४ वर्षदेखि पोर्चुगललाई आफ्नो कर्मथलो बनाएका ४५ वर्षीय सापकोटा विभिन्न सेवामूलक काम र सहयोग पु¥याएकाले पनि सुपरिचित छन् । कोरोनाको महामारीबाट समस्यामा परेका मानिसलाई आफ्नो निजी खर्चमा सेवाभावले पिज्जा खुवाउने अभियान चलाइएको सापकोटाले बताए ।

पोर्चुगलको राजधानी लिस्बनका २४ वटा वडाका समस्याग्रस्त मानिसलाई पिज्जा खुवाउने लक्ष्य राखिएको छ । “लिस्बन महानगरका काउन्सिलर कार्लोस कास्तुको समन्वयमा सम्बन्धित स्थानमा नै पिज्जा बनाएर खुवाउन हाम्रो टिम जुटेको छ”, सापकोटाले भने । घुम्ती शिविर हरेक वडामा सञ्चालन हुने र घरघरमा पिज्जा पु¥याइने छ । स्थलगत पिज्जा तयार पार्ने व्यवस्थापनमा नेपाली व्यवसायी लक्ष्मीप्रसाद सापकोटा पनि लागिपरेका छन् ।

मूलतः एशियाली र अफ्रिकी तथा पोर्चुगिसलाई पिज्जा वितरण गर्ने लक्ष्य छ । सामान्यतः एउटा पिज्जा तयार गर्न नौ युरो अर्थात् झण्डै एक हजार एक सय नेपाली रुपियाँ लाग्ने अनुमान छ । अभियानलाई नै आवश्यक पर्ने पिज्जा बनाउनका लागि उनले ३० हजार युरो (झण्डै रु ४० लाख) पर्ने चुल्हो (फोर्नो) उनले किनेका छन् । उनको अभियानमा ७० हजार युरो (८५ लाखदेखि ९० लाख रुपियाँ) खर्च हुने जनाइएको छ ।

अभियानमा लिस्बन नगरपालिकाका मेयरले महत्वाकाङ्क्षी योजनामा समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काउन्सिलर कार्लोस कास्तुले आफैँ पिज्जा बनाउने स्थलमा उपस्थित भई उनको कामको हौसला प्रदान गरेका छन् । एक नेपालीले यति ठूलो पुण्य काम गरेकामा लिस्बन नगरपालिका सधैँ साथमा रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *