‘लिपुलेक’ कलाकृतिलाई यस वर्षको ‘राष्ट्रिय ललितकला पुरस्कार’

पोखरा । कलाकृतिका लागि यस वर्षको ‘राष्ट्रिय ललितकला पुरस्कार’ पोखराकी अग्रज कलाकार मिलन शेरचनलाई प्रदान गरिने भएको छ । ललितकलाका विधामा उल्लेखनीय योगदान पु¥याउँदै आएका स्रष्टाहरुलाई ललितकला प्रज्ञा–प्रतिष्ठानले विभिन्न विधामा पुरस्कृत गर्दै आएको छ ।

यही वैशाख २ गतेदेखि हुने भनिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०७७’ बन्दाबन्दीका कारण स्थगित भएपछि सङ्कलन भएका कलाकृतिहरुको मूल्याङ्कनका आधारमा उनलाई ६० हजार रुपियाँ राशिको सो पुरस्कार अर्पण गरिने प्रतिष्ठानले विज्ञप्तिमार्फत जनाएको छ ।

उनी ‘हानानो ओशिवाना’ अर्थात् झारपातबाट सुन्दर चित्र बनाउने कलाकारका रुपमा परिचित हुनुहुन्छ । सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले भने, “यो निकै गर्विलो पुरस्कार हो, जो कोही कलाकारलाई यो पुरस्कार पाउन चाहना हुन्छ, मेरो पनि थियो पाएँ, निकै खुशी छु”, उनीसहित कास्कीका अन्य दुई स्रष्टाले विशेष र प्रादेशिक पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

प्रादेशिक पुरस्कारतर्फ कास्कीका दलबहादुर गुरुङले प्राप्त गरेका छन् । उनले ‘प्रतिस्थापन’ कलातर्फ २५ हजार रुपियाँ राशिको पुरस्कार पाउन सफल हुनुभएको हो । विशेष पुरस्कारमा जिल्लाकै बाबुराम बस्ताकोटीले ‘जिम्ती’ कलाकृतिबाट २५ हजार राशिको पुरस्कार प्राप्त गरेका छन् ।

एक लाख रुपैयाँ राशि रहेको यस वर्षको ‘राष्ट्रिय अरनिको सम्मान–२०७७’ शङ्करनाथ रिमाल र सन्तकुमार शाक्यलाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । त्यस्तै ‘ललितकला राष्ट्रिय लेखन पुरस्कार–२०७७’ लय मैनाली र ‘ललितकला राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७७’ केशवराज खनाललाई प्रदान गरिनेछ । प्रतिष्ठानले विभिन्न विधामा मूल्यांकन गरी दुई दर्जनभन्दा बढी पुरस्कृत हुने स्रष्टाको नाम सार्वजनिक गरेको हो ।

प्रतिष्ठानले जारी गरेको विज्ञप्तिका अनुसार कोभिड–१९ ले गर्दा स्थगित भएको ललितकला प्रदर्शनीलाई अनलाइन वा अन्य कुनै वैकल्पिक माध्यमबाट सञ्चालन गरिने भएको छ । कोरोना सङ्क्रकणबाट सुरक्षित हुन अहिले भौतिक उपस्थितिभन्दा अनलाइन माध्यम नै उपयुक्त हुने प्रतिष्ठानका कुलपति केके कर्माचार्यले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *