लकडाउन अवधिमा छ अर्बको औषधि आयात

काठमाडौँ । गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा ६ अर्ब रुपियाँ बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा ५ अर्ब ९० करोड ९६ लाख १० हजार रुपियाँ बराबरको तयारी औषधि र कच्चा पदार्थको आयात भएको हो ।

सो अवधिमा ४ अर्ब ५७ करोड २९ लाख ९३ हजार रुपियाँ बराबरको तयारी औषधि र १ अर्ब ३३ करोड ६६ लाख १७ हजार रुपियाँ बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाश दाहालका अनुसार बन्दाबन्दीको अवधिमा तीन लाख १२ हजार ८ सय ८१ मेट्रिक टन खाद्यान्न, ७८ हजार २ सय २७ मेट्रिक टन दलहन, ९९ हजार ३ सय ७३ मेट्रिक टन तरकारी, ३९ हजार ४ सय ४८ मेट्रिक टन फलफूल र १२ हजार ३ सय ११ मेट्रिक टन दुग्धजन्य पदार्थको आयात भएको छ ।

उहाँका अनुसार बन्दाबन्दी शुरु भएपछि खाद्य पदार्थको आयातमा वृद्धि भएको छ । पहिलो हप्तादेखि दशौँ हप्तासम्मको औसत आयातको तुलनामा खाद्यान्नमा छ दशमलव नौ प्रतिशत र दाल तथा गेडागुडीको आयातमा १४ दशमलव सात प्रतिशतले वृद्धि भएको छ । यसैगरी तरकारीमा चार प्रतिशत, फलफूलको आयातमा ३८ प्रतिशत, दुग्धजन्य पदार्थको आयातमा दुई हजार ६ सय ५८ प्रतिशत, औषधिको कच्चा पदार्थमा ३० दशमलव एक र तयारी औषधिमा ४४ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।

बन्दाबन्दीको अवधिमा केही वस्तुको आयातमा थपघट भएको जनाइएको छ । मन्त्रालयको तथ्याङ्कानुसार पाँचौँ हप्तादेखि घट्दो क्रममा रहेको खाद्यान्नको आयात दशौँ हप्ताको तुलनामा एघारौँ हप्तामा दोब्बर भएको छ । बन्दाबन्दीको छैटौँ हप्तामा दलहन तथा गेडागेडी, फलफूल तथा तयारी औषधि आयातमा वृद्धि भएको थियो भने औषधिको कच्चापदार्थ नवौँ हप्तामा आयातमा वृद्धि भएको थियो ।

रसुवागढी नाकाबाहेक सबै सीमानाकाबाट निरन्तररूपमा सामान आयात भइरहेको मन्त्रालयले जनाएको छ । गत जेठ १ गतेदेखि ३१ गतेसम्म खाद्यान्न, औषधिलगायतका पदार्थ लिएर काठमाडौँ उपत्यकामा तीन हजार ८ सय ९० ट्रकहरु प्रवेश गरेको जनाइएको छ । ती मध्येमा धान बोकेका ७० , मकै बोकेका ३ सय ९२, चामलका ६ सय ६४, गहुँका १ सय ४७, मैदाका १ सय ५१, चिनीका १ सय एक, नुनका ३१, दालका १ सय पाँच, अण्डाका १ सय ३५, कुखुराका १ सय ६७, फलफूलका ४ सय २०, दूधका २ सय ७६, औषधिका २ सय नौ, घ्यूतेलका १ सय ९२, अक्सिजनका नौ र तरकारीका ८ सय २१ ट्रक उपत्यका प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *