राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुनेः मन्त्री नेम्वाङ

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोरोना प्रभावका कारण मन्त्रालयको बजेट कटौती भए पनि थप रकम माग गरेर राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गरिने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री नेम्वाङले ठूला राष्ट्रिय गौरवका आयोजना विसं २०७९÷८० सम्ममा सम्पन्न हुने विश्वास व्यक्त गरे । हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग, फास्ट ट्र्याकलगायतका सडक आयोजनालाई सरकारले महत्व दिएर बजेट विनियोजन गरेको उनको भनाइ थियो । सडकको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कस्ता आयोजना आवश्यक छ भनी पहिचान गरिएको उनले बताए । उनले भने, “सडकका नयाँनयाँ क्षेत्रका पहिचान गरेर बजेट विनियोजन गरिएको छ ।”

त्यस्तै, मन्त्रालयले त्रिदेशीय महत्व राख्ने ‘रोड कनेक्टिभिटी’ लाई पनि अघि बढाउने लक्ष्य लिएको मन्त्री नेम्वाङले बताए । विगतमा निर्माण शुरु भएका ठूला सडकलाई आवश्यक रकम विनियोजन गरेर अघि बढाइएको र भौतिक पूर्वाधारको नयाँ क्षेत्र पहिचान गर्दै सुरुङमार्गको निर्माण थालिएको उनले बताए । उनका अनुसार मन्त्रालयले अहिले नागढुङ्गा, सिद्धबाबालगायत नौ सुरुङ मार्गको निर्माण, सम्भाव्यता अध्ययन पहिचान, डिपिआरका लागि बजेट विनियोजन गरेको छ । सरकारले पूर्व–पश्चिम राजमार्ग कांकडभिट्टादेखि गड्डाचौकी कम्तीमा चार लेन स्तरोन्नति निर्माण शुरु गरिसकेको उनले जानकारी दिए । त्यसका लागि लगानी सुनिश्चित गरेर निर्माण थालिएको उनले स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *