काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाल आज बुधबार कालापानी क्षेत्र पुग्दैछन् । उनीहरु हवाई मार्ग हुँदै कालापानीको छाँगरुमा पुग्नेछन् ।
नेपाली सेनाका प्रधानसेनापति पहिलोपटक कालापानी क्षेत्र पुग्न लागेको बताइएको छ । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरी नयाँ नक्शा जारी गरेपछि उक्त क्षेत्रनजिकै सेनापति सशस्त्र प्रहरीका आइजीपी खनालसहित सुरक्षा अधिकृतहरुसँग पुग्दैछन् ।
काठमाडौंबाट प्रस्थान गरेका दुवै सुरक्षा निकायका प्रमुखहरु सैनिक विमानबाट धनगढी पुगी त्यहाँबाट हेलिकोप्टर चढेर छाँगरु पुग्ने योजना रहेको छ । त्यहाँ सेनाको अस्थायी बेसक्याम्पस र सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट रहेको छ । छाँगरु पुग्ने बाटो बनिरहेकाले उनीहरुले त्यसको समेत निरीक्षण गर्नेछन् ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालले नयाँ नक्शा जारी गरेपछि सरकारको निर्देशनमा दार्चुलाको छाँगरुमा सेना र प्रहरी पुगेका हुन् ।
यसअघि भारत हुँदै छाँगरु जानुपर्दथ्यो भन अब नेपालकै भुभाग भएर पुग्न सकिने गरी बाटो बनाउने काम तीब्र गतिमा चलेको रिपाेर्टर्स नेपालले जनाएकाे छ ।