काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध बैंकिङ कसुरबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीका तत्कालीन कार्यकारी अध्यक्षसमेत रहेका श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोड ६१ लाख रुपियाँ गैरकानुनी आर्जन गरेको अभियोगमा मुद्दा दायर गरिएको हो ।
विभाग स्रोतकाअनुसार श्रेष्ठसँग २ अर्ब ६६ करोड ६१ लाख रुपियाँ विगो र दोब्बर जरिवाना माग दावी गर्दै मुद्दा दायर गरिएको हो ।
श्रेष्ठले किर्ते गरेर विभिन्न बैंक, वित्तीय संस्था र सहकारीहरुबाट ऋणका रुपमा रकम लिएर त्यसलाई जालसाझीपूर्वक मिनाहा गर्ने गरेका थिए । उनले आफू अध्यक्ष रहेको फाइनान्सबाट काल्पनिक ऋणीहरु खडा गरेर आफैं रकम लिने गरेको पाइएको छ ।
उनले कैलास विकास बैंक, एभरेष्ट बैंक लगायतबाट पनि ऋण लिएर दुरुपयोग गरेको भेटिएको छ । काठमाडौंको नागार्जुन–४ निवासी श्रेष्ठले छलपूर्वक एउटै बैंकबाट ८३ करोडसम्म ऋण लिएर आफ्नो परिवारको नाममा रकम लगेर राख्ने गरेको देखिएको छ ।
श्रेष्ठले आफ्नो बैंकमार्फत आकर्षक ब्याजदर तोकेर निक्षेप आकषिैत गर्ने र नक्क्ली ऋणी खडा गरेर रकम आफैंले दुरुपयोग गर्ने गरेको खुलेको छ । कर्जा फारमलगायत आवश्यक फारम नभरी र कागजी प्रक्रिया पुरा नगरी नक्कली ऋण खडा गर्न उनी माहिर देखिएका छन् ।