श्रीलङ्काबाट नेपालीको हवाई उद्धार गरिँदै

काठमाडौँ । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन हिमालय एयरलाइन्सले आजदेखि उद्धार चार्टर्ड उडान गर्दैछ । हिमालयको पूर्वनिर्धारित तालिकाअनुसार आज श्रीलङ्काबाट नेपालीको उद्धार उडान हुनेछ । सोही प्रयोजनका लागि हिमालय एयरलाइन्सको न्यारोबडी जहाज आज बिहान कोलम्बो उडेको छ । नेपालबाट ४१ यात्रु लिएर कोलम्बो उडेको जहाज आजै उताबाट नेपाली लिएर फर्कने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

हिमालयकै अर्को न्यारोबडी जहाज कार्गो उडानका लागि चीनको छाङ्सा उडेको छ । अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालयको जहाज छाङ्सा गएको विमानस्थल कार्यालयले जनाएको छ । विदेशमा अलपत्र नेपाली फर्काउन हिमालय एयरलाइन्सले उद्धार चार्टर्ड उडानको तालिका र भाडादर सोमबार सार्वजनिक गरेको थियो । उक्त एयरलाइन्सले जुन १६ देखि २० सम्म विदेशमा अलपत्र नेपाली फर्काउने चार्टर्ड उडानको तालिका बनाएको छ ।

निगमको दुबई र दोहा उडान स्थगित

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को पूर्वनिर्धारित तालिकाअनुसार आज मंगलबार हुने भनिएको दुबई र दोहा गन्तव्यको चार्टर्ड उडान स्थगित भएको छ । निगमले दुबै उडान रद्दबारे आजै बिहान विमानस्थललाई अवगत गराएको थियो । निगमको सोमबार मलेसिया र माल्दिभ्सको उडान पनि स्थगित भएको थियो । निगमको वाइड बडी जहाजले जुन १४ तारिखमा बङ्गलादेशको ढाकाबाट उद्धार उडान गरी २५८ नेपाली ल्याएको थियो । निगमले जुन १४ देखि २५ सम्म चार्टर्ड उडानको कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

अष्ट्रेलियाको उद्धार उडान सर्यो

नेपाल एयरलाइन्सले जुन १७ तारिखमा अष्ट्रेलियाको सिड्नीमा हुने भनिएको उद्धार उडान पनि सरेको छ । आगामी जुन २३ मा पहिलो र जुन २६ मा दोस्रो उडान हुने जनाइएको छ । प्राविधिक कारण उद्धार उडान सार्नुपरेको निगमले उल्लेख गरेको छ । निगमका प्रवक्ता अर्चना खड्काले संस्कृति, पर्यटन मन्त्रालयबाट उद्धार चार्टर्ड उडानको तालिका परिमार्जित भएर आएकाले पूर्वनिर्धारित तालिकामा उडान नभएको जानकारी दिनुभयो । मन्त्रालयले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्ने गरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ ।

यसैबीच कोरियन एयरको जहाजले २३५ यात्रुलिएर दक्षिण कोरियाको सिओल उडेको छ । कोरिया फर्किनेमा नेपाली कामदार रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *