काठमाडौँ । बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् ।
आइतबार बिहान मुम्बाईस्थित उनकै घरमा झुण्डिएको अवस्थामा उनी भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
३४ वर्षीय सुशान्तको आत्महत्याको कारण खुल्न नसकेको बताइएको छ । मुम्बई प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
उनी ६ महिनादेखि डिप्रेसनमा रहेको भन्दै डिप्रेसनकै कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
टेलिसिरियलबाट करिअर सुरु गरेका उनको पहिलो सिरियल ‘किस देशमे हे मेरा दिल’मा अभिनय गरेका थिए । उनको विशेष परिचय भने एकता कपुरको धारावाहिक सिरियल ‘पवित्र रिस्ता’बाट मिलेको थियो ।
यसपछि उनी ‘काइ पो चे’मार्फत बलिउडमा प्रवेश गरेका थिए । यसमा उनको अभिनयको निकै चर्चा भएको थियो। यसपछि उनी ‘शुद्ध देशी रोमान्स्’, भारतीय क्रिकेट टिमका पूर्वकप्तान एमएस धोनीको जीवनीमा आधारित फिल्म ‘एमएस धोनी स् द अन टोल्ड स्टोरी’, ‘पिके’, ‘सोन चिडिया और छिछोरी’ जस्ता फिल्ममा काम गरेका थिए ।
उनलाई सबैभन्दा चर्चा दिलाउने फिल्म बनेको थियो धोनीको जीवनीमा आधारित फिल्म । जसमा उनको अभिनयको अहिलेसम्म पनि चर्चा गरिँदै आएको छ ।
केही दिनअघि उनका पूर्व म्यानेजर दिशा सलियनले घरको छतबाट हामफालेर आत्माहत्या गरेका थिए ।